साझा प्रकाशन अनिमियतता प्रकरण, सञ्चालकद्वारा सुनुवाई बहिष्कार

0
Shares

 

ईश्वरराज ढकाल, काठमाडौं
साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले आयोजना गरेको सार्वजनिक सुनुवाई एवं पत्रकार सम्मेलन तीन सञ्चालकले बहिष्कार गरेका छन्। आफ्नो विषयमा आएका समाचारलाई खण्डन गर्ने गरी आयोजना गरिएको कार्यक्रममा आफूहरू उपस्थित नभएको उनीहरूले बताएका छन्। आफू मनपरी गर्ने अनि सामाचार आयो भनेर खण्डन गर्न बोलाएको कार्यक्रममा हामी किन जाने?’ –सञ्चालक विजय सुब्बाले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँले साझा प्रकाशनको अनियमितताबारे छानविन भइरहेको अवस्थामा यस्तो कार्यक्रम आयोजना गरेर पत्रकार सम्मेलन गर्नु गलत भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी निर्वाचित सदस्य हौं, साझाले गरेको कुनै पनि कार्यक्रममा सहभागी हुन्छौं, हचुवाको भरमा अध्यक्ष एक्लैले आयोजना गरेको कार्यक्रममा सहभागी हँुदैनौं।’

उहाँले निर्वाचित तीनैजना सदस्यहरू सो कार्यक्रममा उपस्थित नभएको जानकारी दिनुभयो। ‘म, जीवनचन्द्र कोइराला र हरिहर खनाल तीनैजना नगएकै हौं’ –सुब्बाले भन्नुभयो। अर्का सञ्चालक जीवनचन्द्र कोइरालाले बिनातयारी बैठक नै नडाकिकन आयोजना गरिएको कार्यक्रममा उपस्थित हुनु औचित्य नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘उहाँको कार्यक्षेत्रको बारेमा कुरा भएकाले नै उहाँले आयोजना गर्नुभएको कार्यक्रममा उपस्थित नभएका हौं।’ उहाँले आन्तरिक छलफलसमेत आयोजना नगरी गरिएको कार्यक्रममा उपस्थित हुनुको कुनै औचित्य नभएको बताउनुभयो।
तीन निर्वाचित सञ्चालक उपस्थित नभए पनि साझाले मनोनित गरिएका तीन जना सदस्यहरूको उपस्थिति रहेको थियो। साक्षीको रूपमा उपस्थित पूर्वमन्त्री एवं सदस्यद्वय प्रदीप नेपाल, दीनानाथ शर्मा र साहित्यकार कृष्णहरि बराल गरी तीन जना सञ्चालक उपस्थित थिए।

सार्वजनिक सुनुवाई भनी आयोजना गरिएको कार्यक्रममा अधिकांश कर्मचारीले सञ्चालकत्रयलाई तथानाम आरोप लगाएका थिए। आरोप लगाइरहँदा तीनैजना चुप लागेर बसेका थिए। तीन सञ्चालकमध्ये नेपाल र शर्मालाई करिब ६ महिनासम्म अध्यक्ष डोलिन्द्र शर्माले खुसी पार्न चालक पठाएको र सञ्चारमाध्यममा समाचार आएपछि डरले चालक फिर्ता गरेको, अध्यक्ष शर्माले जे भन्यो त्यही मान्ने र लाखौं रुपियाँ भत्ता बुझने गरेको, अनुगमनको नाममा भत्ता बुझ्ने गरेको, घरमा माइन्युट ल्याउँदा सजिलैसँग हस्ताक्षर गर्ने गरेकोलगायतका दर्जनौं आरोप लगाउँदा तीनैजना सञ्चालक मुकदर्शक भएका थिए। ‘तपार्इंहरू आदरणीय हुनुहन्छ तर साझा डुबाउने अध्यक्ष शर्माले राखेको सबै प्रस्तावलाई स्वागत गर्नुहुन्छ, मनपरी गर्दासमेत छुट दिनहुन्छ’ –कर्मचारीको आरोप थियो।

साझा प्रकाशन कर्मचारी युनियनका अध्यक्ष प्रभा रेग्मीले अध्यक्ष शर्माले संस्थालाई लाखौं रुपियाँ घाटा गर्नेगरी आफ्नो स्वामित्वमा रहेको अल्पाइन प्रेसमा पुस्तक छपाई गर्ने गरेको, नक्कली माइन्युट खडा गर्ने गरेको, २ वर्षदेखिको सञ्चयकोष नपठाएको, लाखौं रुपियाँ अपचलन गर्दा पनि सञ्चालकहरू टुलुटुलु हेरेर बसेको, सयभन्दा बढी कर्मचारीलाई अवकाश दिएको, ८५ जना नयाँ कर्मचारीलाई नियमविपरीत नियुक्ति गरेकोलगायतका दर्जनभन्दा बढी आरोप लगाएका थिए।

पत्रकार सम्मेलन भनेर आयोजना गरिएको सार्वजनिक सुनुवाईमा अधिकांश कर्मचारीले अध्यक्ष शर्माले अनधिकृतरूपमा आफ्नो लगानीमा सञ्चालन भएको अल्पाइन प्रेसमा पुस्तक छपाई गरी साझालाई डुबाएको आरोप लगाएका थिए। पूर्वकर्मचारी तारा चालिसेले आफूले पाउने तलबलगायतका सुविधा उपलब्ध गराउने भन्दै अवकाश दिन लगाएर पनि हालसम्म २० प्रतिशत मात्रै तलब दिएर कर्मचारीमाथि थिचोमिथो गरेको आरोप लगाउँदै अध्यक्ष शर्माकै कारण साझा प्रकाशन तहसनहस हुन लागेको बताउनुभयो।

उहाँले पुस्तक छपाईमा अनियमितता हुँदासमेत सञ्चालकद्वय नेपाल र शर्माले अध्यक्ष शर्माले जे भन्यो त्यसैमा हस् भन्दै घरमा लगेर माइन्युट हस्ताक्षर गराउँदासमेत मान्ने प्रवृतिको कारण संस्था धराशयी बन्दै गएको आरोप लगाउनुभयो। उहाँले सरकारबाट बैंकको ऋण तिर्न भनी दिएको रकम अन्तै खर्च गरेर ठूला कुरा गर्ने गरेको, अधिकृतस्तरका कर्मचारीलाई बाहिर राखेर सहायकस्तरको कर्मचारीलाई विभागीय प्रमुखको जिम्मेवारी दिएकोलगायत संस्थामा दर्जनौं गैरकानुनी काम हुने गरेको जानकारी गराउनुभयो।

अधिकांश समय अध्यक्ष शर्माको कडा आलोचना गरेका कर्मचारीले अध्यक्षकै कारण संस्था कमजोर बन्दै गएको आरोप लगाएका थिए। अध्यक्षको विरोधमा बोल्ने कर्मचारीलाई सरुवा गर्ने धम्की दिने त कसैलाई सरुवा गर्ने गरेको, आफूले भनेका कर्मचारीलाई कारबाही गर्छु भन्ने चेतावनी दिने गरेकोलगायतका आरोप कर्मचारीले लगाएका थिए।

अवकाश प्राप्त कर्मचारी हीराकाजी महर्जन, रामशरण अधिकारीलगायतले साझा प्रकाशनको विषयमा सरकारले छानविन गर्नुपर्ने र मनपरीरूपमा पुस्तक प्रकाशन गर्न छुट दिने अध्यक्षमाथि कारबाही गर्नुपर्ने बताएका थिए। अध्यक्ष शर्माले शून्य रकम भएको संस्थालाई यो स्थानमा ल्याउन आफूले ठूलो योगदान गरेको दाबी गर्नुभएको थियो। उहाँले आफूमाथि लगाइएको आरोप गलत भएको टिप्पणी गर्दै छानविन गरी दोषी भए कारबाही भोग्न तयार रहेको बताउनुभएको थियो। उहाँले आफ्नो कार्यकालमा ९० भन्दा बढी पुस्तक प्रकाशन गरेको, संस्थामा ११ वर्षदेखिको लेखा परीक्षण गर्न शुरू गरिएको, कर्मचारी व्यवस्थापनलाई चुस्त बनाइएको, पाठ्यपुस्तक उत्पादन गरेको, अन्तर्राष्ट्रिय सहयोग समिति गठन गरी सम्बन्ध विस्तार गरेको बताउनुभएको थियो।

उहाँले आफूमाथि लगाइएको आरोप आधारहीन भएको जिकिर गदै आफूले गल्ती गरे जुनसुकै कारबाही भोग्न तयार रहेको जानकारी गराउनुभएको थियो। उहाँले सञ्चालक नआएको विषयमा उहाहरूलाई नै सोध्नुस् भन्दै सञ्चालकको विषयमा आफूले केही बोल्न नचाहेको उल्लेख गर्नुभयो। ‘ममाथि लगाइएका अधिकांश आरोप अख्तियारद्वारा सफाई भइसकेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘मैले अख्तियारबाट सफाई पाइसकेको विषयमा केही भन्नुछैन।’

अनियमितता गरेको विषयमा सञ्चारमाध्यमले समाचार लेख्न थालेपछि आत्तिएर पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गर्नपुगेका अध्यक्ष शर्माको विरुद्धमा कर्मचारीले कार्यक्रमस्थलमै विज्ञप्ति वितरण गरेका थिए। सञ्चालकत्रय नेपाल, शर्मा र बरालमाथि आरोप लाग्दा उनीहरूले कुनै जवाफ दिएका थिएनन्। कार्यक्रममा बोल्दै साहित्यकार मोदनाथ प्रश्रितले घटना गहन हुँदै गएकाले एउटा आयोग बनाएर छानविन गर्नुपर्ने बताए। उनले भने– ‘जस्तोसुकै भए पनि स्रस्टाको कृति जोगाइराख्न साझा बचाउनुपर्छ।’