राष्ट्रिय गीतहरुको एल्बम सार्वजनिक

0
Shares

हरिराम महर्जनको शब्द तथा जुगल डंगोलको संगीतमा राष्ट्रिय गीतहरुको सँगालो मेरो माटो सार्वजनिक गरिएको छ।

विन्ध्यवासिनी म्युजिकले बजार व्यवस्थापन र प्रवद्र्धन गरेको उक्त गीतिसंग्रहको शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार दुर्गालाल जोशी, गायक प्रेमध्वज प्रधान, विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीलगायतले एल्बमको विमोचन गरेका थिए। जम्मा ८ वटा गीतहरु रहेको संग्रहमा शब्द हरिराम महर्जन र संगीत जुगल डंगोलको रहेको छ भने विभिन्न गायकगायिकाले गाएका छन्। कार्यक्रममा गीतिसंग्रहमा रहेको मध्ये ४ वटा गीत प्रस्तुत पनि गरिएको थियो। अग्लाअग्ला हिमाल मेरा बोलको गीत गायक उत्तम महरा, खबरदार होसियार बोलको गीत रामकृष्ण दुवाल, जाति धर्मको कित्ता छोडौं बोलको गीत र मेरो प्यारो ठेचो गाउँको बोलको गीतलाई सामूहिक रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा दुर्गालाल श्रेष्ठले उक्त गीतिसंग्रहमा गीत, संगीत तथा गायनको उचित संयोजन रहेको चर्चा गर्दैै राष्ट्रियताप्रति चिन्तित रहेको बताए। विन्ध्यवासिनीका सुवास रेग्मीले भने, ‘देशलाई राष्ट्रिय भावनासँग जोड्न सहयोग गरिएको हो।’

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जोशीले माटोको महिमालाई बुझ्न र राष्ट्रिय भावनालाई उजागर गर्न उक्त गीतिसंग्रह सार्थक रहेको चर्चा गरे। एल्बम हरिराम महर्जनकी स्वर्गीय आमा धनकुमारी महर्जनप्रति समर्पित रहेको छ।