थाइल्यान्डको फेस्टिबलमा, नेपालका फिल्म विद्यार्थीलाई आउटस्ट्यान्डिङ अवार्ड

0
Shares

थाइल्यान्ड इन्टरनेसनल फिल्म डेस्टिनेसन फेस्टिबलमा यस वर्ष नेपालको फिल्म लस्ट एन्ड फाउन्डले बेस्ट आउटस्ट्यान्डिङ प्रेजेन्टेसन अवार्ड जितेको छ।

थाइल्यान्ड सरकारले अन्तर्राष्ट्रिय फिल्मका लागि छायांकन गन्तव्य बनाउने उद्देश्यले हरेक वर्ष आयोजना गर्ने यस फेस्टिबलमा यस वर्ष १४ देशका ३३ फिल्म प्रतिस्पर्धामा थिए। विश्वभरिका फिल्म स्कुल र कलेजहरुबाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस वर्ष नेपालबाट ओस्कर इन्टरनेसनल कलेजबाट ३ र कान्तिपुर फिल्म एकेडेमीबाट एक गरी ४ फिल्म प्रतिष्पर्धामा सहभागी भएका थिए। जसमा कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेटको छोटो फिल्म लस्ट एण्ड फाउन्डले उक्त अवार्ड चुम्न सफल भएको हो। फिल्मले अवार्डका साथमा ३० हजार भाट अर्थात् नेपाली मुद्रा १ लाख रुपियाँ प्राप्त गरेको छ।

फिल्मले थाइल्यान्डका पर्यटकीय शहरलाई उजागर गरेको छ। असिनका अनुसार १० वर्षकी एक बच्ची बाबुआमाका साथमा थाइल्यान्ड पुग्दा हतारिएर घुम्न जाँदा स्थायिन टुकटुक गाइडले भेटेपछि पर्यटकीयस्थल घुमाउँदै उनलाई होटल पुर्याउन सहयोग गरेको कथामा यो फिल्म केन्द्रीत छ।‘१० वर्षकी बच्ची र ६० वर्षका थाई टुकटुक गाइडबीचको कथामा फिल्म घुमेको छु –उनले भने।

गत बिहीबार थाइल्यान्डको बैंककमा सम्पन्न फेस्टिबलमा मेक्सीकोको इफ आइ वेर ब्रेभले बेस्ट फिल्मको अवार्ड जितेको थियो। उक्त समारोहमा थाइल्यान्डका पर्यटनमन्त्री, शैनिक प्रमुख तथा थाइल्यान्ड सरकारका उच्च पदस्थ अधिकारीहरु र थाइल्यान्डलगायत विश्व फिल्म क्षेत्रका प्रख्यात फिल्मकर्मीहरुको उपस्थिति रहेको अशिन र रोनिसले जानकारी गराएका छन्।