पाउको हिसाब गोलमाल

0
Shares

 

प्रशान्त वली

काठमाडौंको कीर्तिपुर दुई पाउ बराबर ४ सय ग्राम।
बाँकेको कांक्रादोचोक दुई पाउ बराबर ५ सय ग्राम।

माथिका दुई वटा उदाहरण हेर्दा नाप तौलको फरक–फरक मान्यता देखिएको छ। प्रायःजसो जिल्लामा ५ पाउको १ केजी मानिँदै आए पनि कतिपय जिल्लामा ४ पाउको १ केजी मानिँदै आएको कुरा आम पाठकलाई थाहा नहुन सक्छ। कहीं एक पाउको २ सय त कहीं १ पाउको २ सय ५० ग्रामका आधारमा हिसाब गरिन्छ। जसले गर्दा कतिपय उपभोक्ता यो नाप तौललाई हेरेर अन्योलमा पर्ने गरेको पाइन्छ।

काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक लगायतका केही जिल्लामा ५ पाउको १ केजी मानिँदै आएको छ भने पश्चिम नेपालका सल्यान, रोल्पालगायतका अधिकांश जिल्लामा चार पाउको १ केजी मानिँदै आएको छ। आम सर्वसाधारणले आवश्यक सामग्रीहरु खरिद गर्दा किलोग्रामको हिसाबमा भाग लगाएर पाउमा किन्ने हुँदा ठगिने सम्भावना कम भए पनि अन्योलता भने छाएको देखिन्छ। जहाँ ५ पाउको १ केजी मानिँदै आएको छ। त्यहाँ २ सय ग्रामको हिसाब गरिन्छ भने ४ पाउको १ केजी मानिँदै आएका जिल्लामा १ पाउको २ सय ५० ग्रामका आधारमा हिसाब गरिन्छ।

मेट्रिक पद्धतिमा अन्तर्राष्ट्रियरूपमै नाप्ने पद्धति किलोग्राम भएकाले पनि गुणस्तर तथा नाप तौल विभागले यस विषयमा खासै चासो दिएको छैन। तर, नाप तौल विभागले आम उपभोक्तालाई पाउको हिसाबमा भन्दा पनि ग्रामलाई विशेष ख्याल गर्न आग्रह गरेको छ।

चार पाउको १ केजी कि पाँच पाउको १ केजी भन्ने विषयमा नेपाल समाचारपत्रले जिज्ञासा राख्दा विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्नुहुन्छ– ‘मेट्रिक पद्धतिमा तौलको नाप किलो ग्राममा हुने भएकाले हामी सबैले पाउभन्दा पनि ग्राममा ध्यान दिनुपर्यो। पाउ स्थानीय चलनचल्तीको परम्परागत भाषा मात्रै हो।’

यसैबीच, यस आर्थिक वर्षमा विभागले २ हजार ५ सय जनालाई नाप तौल शीर्षकमा कारबाही गरेको जनाएको छ। कतिपय स्थानमा ढुंगाको प्रयोग गरेर पनि नाप तौल प्रयोगमा ल्याई ठगी गरेको पाइएकाले सचेत रहन गुणस्तर तथा नाप तौल विभागले सेवाग्राहीलाई आग्रह गरेको छ। नाप तौल जाँच नगराएको र नाप तौल यन्त्र ठीक नभएको भन्दै ५ जनालाई मुद्दासमेत चलाएको बताइएको छ।