नेपालमा उत्पादन हुने सामाग्री लैजान चीन तयार, सूची उपलव्ध गराउन आग्रह

0
Shares

नेपाल समाचारपत्र, रसुवा । नेपालबाट चीनमा लैजान सकिने सामाग्रीको सूची उपलव्ध गराउन चिनियाँ टोलीले आग्रह गरेको छ ।
रसुवाको सदरमुकाम धुन्चेमा आज बसेको सीमा सुरक्षा बैठकमा नेपालमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु निर्यात गर्न तयार रहेकोले पहिलो चरणमा सामाग्रीको सूची उपल्ध गराउन चिनियाँ टोलीले आग्रह गरेको हो ।
नेपालबाट जारी गरिने फाइटो स्यानीटरी प्रमाणपत्रका आधारमा सागसव्जी, मासुजन्य पदार्थ, बोडी, सिमी, आलु लगायतका सामाग्री चीन तर्फ सहज रुपमा सामाग्री निकासी गर्ने वातावरण सिर्जना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
नेपालको तर्फबाट सामाग्रीको सूची उपलव्ध गराएपछि गुणस्तर परिक्षणका लागि चिनियाँ टोली आउने सहमती भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताउनुभयो ।
रसुवागढी नाकामा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित गरी दुई देशको व्यापार सहज वनाउका लागि समन्वय संयन्त्र तयार गरिने वताइएको छ ।
सीमा नाकामा हुन सक्ने मानव वेचविखन, लागुपदार्थ ओसार पसार, वन्यजन्तुको अंगहरुको निकासी, बहुमुल्य जडिवुटी तथा अवैध सुन नियन्त्रणका लागि नाकामा गस्ती निगरानी बढाउने तथा चेकजाँचमा कडाई गर्ने विषयमा समेत छलफल भएको छ ।