किशोर हत्यारामाथि कारवाही माग गर्दै चौकी घेराउ

0
Shares

नेपाल समाचारपत्र, बारा
छिमेकीको घरमा मृत फेला परेका एक किशारको हत्या गरिएको भन्दै दोषिमाथि कारवाहीको लागि स्थानीयले शनिबार इलाका प्रहरी कार्यालय निजगढ घेराउ गरेका छन । निजगढ नगरपालिका ५ का मनोज सापकोटाका १६ बर्षिय छोरा निसानको छिमेकी बिचारी थापाको घरमा शव फेला परेपछि आक्रोशित स्थानीयले थापा परिवारका सदस्यमाथि कारवाहीको माग गर्दै बिहान १० बजेबाट ४ बजेसम्म चौकी घेराउ गरेका हुन । आक्रोशित भिडले पुर्वपश्चिम राजमार्गमा २ घण्टा सवारी समेत अवरुद्ध पारेका थिए । स्थानीयको अवरोधका कारण शवको पोष्टमार्ट समेत हुन सकेको छैन ।

स्थानीय सार्वजनिक मावि कक्षा ८ मा अध्ययनरत निशानको घरको माथिल्लो तलामा शुक्रबार साँझ ५.३० बजे घाटी रेटेको अवस्थामा शव फेला परेको थियो । थापा सहित श्रीमति बिमला र १३ बर्षिय छोरी बिपनाको मिलेमतोमा हत्या भएको स्थानीयको आरोप छ । प्रहरीले थापा परिवारका एक नाबालक छोरा सहित चार अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसनधान भइरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले घटना रहस्यमय रहेको र वास्तविकता बाहिर आउन केही समय लाग्ने बताए । डिएसपी घिमिरेले प्रारम्भिक अध्ययनबाट घटना हत्या वा आत्माहत्या पनि हुनसक्ने देखिएकाले अहिले नै यकिन गर्न नसकिने बताए ।

‘आरोपीहरु नियन्त्रणमा छन, उनले भने, थप अनुसन्धान पछिमात्र निचोडमा पुग्न सकिन्छ ।’ उनले चौकी घेराउ र राजमार्ग अबरुद्ध पार्दा अनुसन्धान प्रभावित भएको पनि सुनाए । प्रहरीले घटनास्थलमा रगत लतपतिएको एउटा चुलेसी समेत फेला परेको जनाएको छ । घटनाकोे बेला घरमा रहेकी भनिएकी थापाकी छोरी विपनाले निसान घरभित्र पसेर माथिल्लो तलामा पुगे लगत्तै आफुले कोठाभित्र शव देखेको र होहल्ला गरेको बताइन । घर नजिकै खेतमा काम गरिहेकी भनिएकी आमा भवानीले भान्छाको काम गर्न आउने क्रममा माथिल्लो तल्लाबाट रगत चुहिन थालेपछि आफुले पनि घटना बारे जानकारी पाएको र हल्लाखल्ला गरेको बताएकी छिन । बाबु बिचारीले भने घटनाको समयमा आफु बाहिर रहेको बताएका छन ।

मृतकका बुबा मनोज राजेगारीको क्रममा विदेशमा छन । हत्या आरोपमा थापा परिवारका एक नाबालक छोरा सहित ४ जनाको नाममा किटानी जाहेरी दिएको आफन्त थानेश्वर सापकोटाले बताए ।