यो वसपार्क की माछा पोखरी ? 


शिवहरीप्रसाद भट्टराईराजविराज, १४ साउन । नगरपालिका कार्यालय, स्थानीय राजनितिक दल र समाजका अगुवाहरुको वेवास्ताका कारण सप्तरीको उदयमान नगरपालिका सप्तकोशी–१ स्थित फत्तेपुर वजारमा रहेको एक मात्र वसपार्क पोखरीमा परिणत हुन थालेको छ । सम्पुर्ण ब्यवस्थापनको जिम्मेवारी पाएको नगरपालिका कार्यालयले वसपार्कलाई आम्दानीको श्रोतको रुपमा मात्र प्रयोग गर्न थालेपछि वसपार्कको अवस्था विग्रदै गएको हो ।

दैनिक १ सय देखि १ सय ५० सम्म यात्रुवस तथा अन्य सवारी साधन आवत–जावत गर्ने वसपार्कको संरक्षण तथा ब्यवस्थापनमा कसैले चासो नदिएको स्थानीवासी ध्रुव ढुंगानाले वताए । समयमा मर्मत सम्भार तर्फ ध्यान नदिदा पानी जमेर स–साना खाल्टा यतिवेला वढ्दै जाँदा मानिस ओहोर–दाहोरमा समेत समस्या हुन थालेको उनको भनाई छ । ‘सामान्य वर्षातमा समेत जुत्ता खोलेर र कपडा सुर्केर हिड्नु पर्छ’ ढुङ्गाना भन्छन्–‘ठुलै पानी प¥यो भने त यात्रु पुग्न नसकेका कारण वस पनि अन्तै पार्क गर्नुपर्ने अवस्था छ।’ वसपार्कको मर्मत सम्भारमा ध्यान दिनुपर्ने निकायले वास्तै नगर्ने अनि स्थानीय राजनितिक दलका नेता÷कार्यकर्ता आफनो जिम्मेवारी नभएको जस्तो गरेर तर्केर हिड्ने गर्न थालेपछि विकासोन्मुख नगरपालिकामा रहेको वसपार्कको अवस्था दिन प्रतिदिन अधोगतितर्फ उन्मुख भएको स्थानीय एक शिक्षक वताउँछन् ।

उनको आरोप छ–‘वसपार्कको यो अवस्था आउनुमा स्थानीय राजनितिक दलको अदुदर्शीता जिम्मेवार छ ।’ सप्तरी सदरमुकाम राजविराजदेखि झण्डै ५० किमि सुदूरपूर्व उत्तरमा पर्ने यो नगरपालिका स्थानीय निकाय पुनर्निधारणका क्रममा नगरपालिका घोषणा भएको हो । तुलनात्मक रुपमा विकासका प्रसस्त सम्भावना वोकेको यो नगरपालिका २०५२ सालमै नमूना गाविस घोषणा भएको थियो ।

विकास निर्माणका काममा पनि एक हुन नसक्ने राजनितिक खिचातानीकै कारण प्रसस्त श्रोत, साधन र सम्भावना भएर पनि फत्तेपुरको अपेक्षाकृत विकास हुन नसक्नुको एउटा उदाहरण वस पार्क पनि भएको स्थानीयवासीको आरोप छ । यता, राजनितिक दलका नेताहरुले समेत वसपार्कको समस्यालाई जटिल समस्याका रुपमा वुझेका छन् । तर, सामान्य प्रयासमा समाधान ननिस्कने भएकाले समस्या वढ्दै गएको नेपाली कांग्रेसका स्थानीय नेता चन्द्रशेखर चौधरी वताउँछन् । ‘गत वर्ष हामीले करीव १ लाख वरावरको काम गराएका थियौ, तर यस वर्षत कसैको ध्यान पुगेन’–उनले भने । यसैगरी एमालेका नेता तथा सप्तकोशी नगरपालिकाका मेयर उमेदवार उत्तम कुमार गौतमले राजनितिक दलका प्रतिनिधि जिम्मेवार नभएकै कारण वसपार्क अवस्था विग्रीदै गएको स्विकारे । यद्यपी गत वर्ष स्थानीय विकास मन्त्रालय मार्फत दिने भनिएको ३० लाख रुपैँया अन्तिम समयमा रोकिएका कारण काम गर्न नसकिएको उनले जानकारी दिए ।

‘चारैतिरवाट पानीको निकास वन्द भएकाले ढल निकासीको काम नगरेसम्म वसपार्क डुब्ने समस्याको समाधान निस्कने अवस्था छैन’ गौतमले भने–‘स्थानीय विकास शुल्क कोषवाट दिने भनिएको रकम पनि नआएपछि काम अघि वढाउन सकिएन ।’ नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र दाहालले भने वसपार्क ब्यवस्थापनका लागि ढल निकास प्रमुख चुनौती रहेको वताउँदै नगरपरिषदवाट योजना पास गराएरै काम अघि वढाउनु पर्ने वताए । तर, नगरपालिकाले वालुवागिटि हालेर समस्याको तत्कालिन समाधान पनि खोज्ने उनले प्रतिक्रिया दिएका छन् ।