विश्व पाराका लागि खेलाडी छनोट


 

नेपाल समाचारपत्र
काठमाडौं
लन्डनमा हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली खेलाडी छनोट भएका छन्। उक्त च्याम्पियनसिपका लागि २ महिला र १ पुरुष खेलाडीको छनोट गरिएको हो। शुक्रबार कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस क्लबमा भएको महिलातर्फको के–४४ विधामा रन्जना धामी र पलेसा गोवद्र्धन छनोट भएको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए। यद्यपि, खुला छनोटको फाइनलमा रन्जनाले पलेसालाई १३–१२ को रोमाञ्चक स्कोरमा पराजित गरेकी थिइन्।

पुरुषतर्फको के–४२ विधामा रोहित हाङ राई छनोट भए। रोहितले फाइनलमा रामबहादुर अधिकारीलाई ३४–१६ ले सहजै पराजित गर्दै विश्व च्याम्पियनसिपका लागि छनोट भएको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए। लन्डनमा आगामी १९ अक्टोबरदेखि हुने विश्व च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यका साथ तयारीमा लाग्ने नेपाल पारा तेक्वान्दो टिमका प्रशिक्षक कल्याण कुँवरले बताए।