गोरखाको केरौँजाको कामीगाउँको ६० घर पहिरोको उच्च जोखिममा, रातभर जागै बस्छन स्थानीय



सन्तोष अधिकारी, गोरखा । भूकम्प पछि उच्च जोखिममा परेको गोरखाको केरौँजा गाउँको कामीगाउँ पहिरोको पनि जोखिममा परेको छ ।

गोरखाको दुर्गम गाउँ केरौँजाको ६० घर उच्च जोखिममा परेको स्थानीय सुशिला गुरुङले जानकारी दिइन् । ‘बर्खाको बेला छ घरको पिँडिको डिल सम्मै पहिरो आउन लाइसक्यो’ गुरुङ्गले भनिन् ‘पाँच जनाले त घर नै छोडेर पारी डाँडामा टहरो बनाएर बसेको पनि १५ दिन भइसक्यो ।

पानी पर्नथालेपछि त होसबास नै हराउँछ । राती पानी प¥यो भने केटाकेटी सबै राती नै भागेर पारी डाँडामा जान्छन् हामी बुढाबुढीहरु सरसामान जोगाउनुप¥यो भनेर यहिँ बस्छौँ । सामानहरु लैजाउँ भने कहाँ लैजाने ।’ केरौँजाका कान्छा गुरुङ्ग, मायाँ गुरुङ्ग, राममाया गुरुङ, यत्ना गुरुङ्ग, धनबहादुर गुरुङ पहिरोले घर नै जोखिममा परेर छोडेको १५ दिन भइसकेको उनले जानकारी दिइन् ।

घर छोड्नेहरु आफन्तको जग्गामा टहरो बनाएर शरण लिएका छन् । अहिले जोखिममा रहेको कामी गाउँभन्दा तल्लो गाउँका मानिसहरु पनि सरसामानहरु सुरक्षित ठाउँमा सार्न थालेको उनले टेलिफोनमा जानकारी दिइन् । केरौँजामा हिजो आज नियमित जसो पानी परिहेको स्थानीयले बताएका छन् । गतबर्ष पनि पहिरोले केरौंजागाउँको ९० घर र केरौंजाबेशीको २३ घर पुरेको र चार जनाको पुरिएर मृत्यू भएको थियो ।

 

केरौँजा गाउँ भूकम्प पछि बस्नै नहुने भएको गाउँ हो । भूगर्व विद्हरुले समेत केरौँजा गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएपनि त्यसो हुन सकेको छैन । जिल्ला दैवीप्रकोप उद्धार समितीलाई केरौँजा गाउँ स्थानान्तरण गर्न पुननिर्माण प्राधिकरणले पत्रचार नै गरेपनि अहिले सम्म सुरक्षित स्थानको खोजी हुन सकेको छैन । कामी गाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीय शिक्षक सञ्जय ढकालले पनि जानकारी दिए । ‘कामी गाउँ त पहिरोको उच्च जोखिमै छ’ उनले भने ‘साविकको वडा नं. १ को तल्लो गाउँको १५ घर, २ को ५०÷६० घर धरापमा छन पहिरो गाउँ तिर बढ्दै आइरहन्छ । कति बेला गाउँ बगाउँछ थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्