दिउँसोको चोरी ‘अनकन्ट्रोल’, प्रहरीको टाउको दुखाई



कुमार श्रेष्ठ, बाँके । नेपालगञ्जकी आशमा अन्सारी एक्लै घरमा बस्न अल्छी लागेपछि घरमा ताला लगाएर छिमेकी घरमा गफ गर्न जानुभयो । दिउँसो १२ बजेतिर घरबाट निस्केर छिमेकीको घरमा गएकी आशमाले २ बजेतिर फर्किदा लाखौं रुपैया गुमाउनुभयो ।

बाहिरमात्रै नभएर भित्री कोठामा समेत ताला लगाएर निस्किएकी आशमाको दुई घण्टामा फर्किदा चोरले घरमा रहेको गहना र नगद सफाचट गरिसकेको थियो । ग्यालरी र कोठामा लगाएको ताला फोरेर चोरले दिउँसै आशमाको दुई तोलाको सिक्री, डेढ तोलाको औठी, १२ आनाको कानको झुम्का र २ लाख ५ हजार नगद लग्यो ।

आशमाको घरमा डेरा गरी बस्ने शिला गुरुङको कोठाबाट चोरी भयो । कोठाको ताला फोरेर चोरले शिलाको सवा दुई तोलाको सुनको बाला र ५ हजार नगद लग्यो । चोरले आशमाको दराज र बाकससमेत फोरेको थियो । शिलाको भने दराजको साँचो भेटाएको थियो ।

आशमा कहिल्यै अर्काको घरमा गफ गर्न जानुहुन्नथ्यो । त्यही दिन दशा लागेर गएको स्थानीयहरुले बताए ।

त्यही दिन चोरले आशमाको घर नजिकै रहेको दिवस पोखरेलको घरबाट पनि लाखौंको गहना र नगद लगेको छ । घरमा कोही नभएको बेला ताला फोरेर चोरले पोखरेलको घरबाट ५ तोला सुन र ५० हजार लगेका छन् । पोखरेलको घरमा रहेको ८० हजारको मोबाइल भने चोर लगेको थिएन ।  पछिल्ला दिनमा नेपालगञ्जमा दिउँसै चोरी गर्ने गिरोह सक्रिय भएको छ । ताला लागेको घर खोज्दै हिड्ने र देख्ने बित्तिकै चोरी गर्ने गरेको पाइएको छ । दिउँसो चोर्ने चोरको गिरोह ठूलो रहेको आकलन गरिएको छ । घटनाहरु हेर्दा यो समूहले दिउँसो कोही नहुने घरको ‘रेक्की’ गरिरहेको देखिन्छ । आशमाको जसरी एकैछिन आफन्त या छिमेकीको घरमा जाने बित्तिकै घरमा चोरी भएका घटना धेरै आएका छन् ।

बसपार्क पछाडीको बरालथरकी महिला नजिकै रहेको माइतीमा एकछिन जादा सात तोला सुन गुमाउनु परेको थियो । आमालाई सन्चो छैन भन्ने सुनेर एकछिन माइतीमा जादा ताला फोरेर घरमा चोरी भएको थियो । प्रत्यक्षदर्शीहरु भन्छन्, दिउँसो ताला लगाएर गएको र एक घण्टामा फर्किदा घरमा चोरी भएको थियो । यो मात्रै होइन, कारकादोकी यशोदा शाहको घरबाट पनि दिउँसै लाखौंका गहना र नगद चोरी भयो । बाँके प्रहरीका लागि अहिले दिउँसोको चोरी टाउको दुखाईको विषय बनेको छ । दिउँसोको चोर धेरै चलाख रहेका छन् । उनीहरुले सुन र नगद पैसाबाहेक अरु लगेको पाइदैन । चोरले चोरिएको सुन भारतमा लगेर बेच्ने गरेको प्रहरीको बुझाइरहेको छ । ‘चोरहरु सबैजसो नै लागु पदार्थ प्रयोगकर्ता हुन् । चोरिएको सुनलाई रुपैडिहा या बहराइचमा लगेर बेचेर मस्ती गर्ने गरेको बुझिन्छ, प्रहरी अधिकृतहरु भन्छन् । प्रहरीले चोरलाई नसमातेको पनि होइन । एउटै चोर ६ पटकसम्म समातिएको छ । चोरीको सामान फेला नपर्दा अदालतले धरौटीमा छोड्ने गरेको पाइन्छ । चोरीको समान त उसले तत्कालै बेचिसकेको हुन्छ । पटके चोरका घरपरिवार त उसलाई बुझ्नसमेत प्रहरीकहाँ आउदैनन् । नेपालगञ्जमा चोरी बढेपछि प्रहरीले शंकास्पद चोरहरु धेरैलाई समातेर राख्दा केही नियन्त्रण भएको थियो । उनीहरु सार्वजनिक मुद्दा या अदालतबाट धरौटीमा छुटेपछि फेरि चोरी बढेको छ । घरपरिवारले नहेरेपनि कतिपय चोरहरुको त गजवको सम्बन्ध रहेका छन् । अदालतले तोक्ने धरौटी अर्को चोरले बुझाइदिने गरेको छ ।

दिउँसो भएको चोरीका घटना प्रायः १० देखि १२ बजेको बीचमा भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका सई यमबहादुर साउदले पुस÷माघदेखि आफूहरुले सुक्ष्म तरिकाले दिउँसोको चोरी नियालिरहेको र अधिकांश चोरी १० देखि १२ बजेसम्ममा भएको बताउनुभयो । रातीको चोरीमा संलग्न हुनेलाई समातिएपनि प्रहरीले दिउँसोका ठूलो चोरीमा लागेकालाई समात्न सकेको छैन । पटके चोरले लागु औषधमा फस्दै गरेका नयाँलाई धन्दामा लगाइरहेको पाइन्छ । पुरानाहरु आफू संलग्न भएर नयाँलाई चोर्न लगाई भाग लिने गरेको सम्बद्धहरु बताउँछन् । नेपालगञ्जमा चोरेर भारतको बहराइचमा गएर मस्ती गर्ने चोरको समूह बढेको प्रहरी स्रोतको भनाई छ ।

नेपालञ्जमा दिउँसोमै ठूल्ठूला चोरी भएकाले स्थानीय व्यक्तिहरु सचेत हुनुपर्ने प्रहरीको भनाई छ । ‘घर खाली गरेर टाढा जादा प्रहरी र छिमेकीलाई खबर गर्नु प¥यो । नजिकै एकछिन जाने भएपनि छिमेकीहरुलाई सचेत गराएर जादा राम्रो हुन्थ्यो, एक प्रहरी अधिकृत भन्छन्, आफूहरुले लापरबाही गर्ने अनि प्रहरीले नै सुरक्षा गरिदिएन भन्ने प्रवृत्ति छ ।’

लागु औषध प्रयोगकर्ता नै चोरीमा लागेका छन् । दिउँसो होस् या राती नेपालगञ्जमा आँखा झिमिक्क हुने बित्तिकै चोरी हुने गरेको छ । चाडबाड होस् कि अघिपछि नेपालगञ्जका कुनै पनि घर सुरक्षित छैनन् । टोलटोलमै चोरको पहुँच रहेको घटनाहरुले देखाउँछन् । एकैछिन घरमा ताला लगाएर गएको व्यक्ति फर्किदा लुटिइसकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्