पानी नपरेपछि…

0
Shares

बाँके (नेस) ।  थारु समुदायका महिलाहरु पुरुषको पोशाक अर्थात सर्ट, पाइन्ट र धोती लगाएर हिडेको पाइदैन । मंगलबार कोहलपुरको हवल्दारपुरमा पुरुष पोशाकमा महिलाहरु देखिए ।

थारु महिलाहरुले इन्द्र भगवानलाई खुशी बनाउन पुरुष पोशाक लगाएर निस्केका हुन् । लामो समयदेखि पानी नपरेर खडेरी भएपछि थारु महिलाहरु पानी माग्दै पुरुष पोशाकमा निस्केका थिए । ‘इन्द्र भगवानलाई खुशी बनाउन’ पुरुष पोशाकमा हलो, जुँवा बोकेर थारु महिलाले निस्कने परम्परा नै रहेको छ ।

पानी नपरेपछि किसानले धान रोप्न पाएका छैनन् । साउनको दोस्रो साता सिधिन थाल्दा बाँकेमा २० प्रतिशतमात्रै रोपाई भएको छ । पानी नै नपरेपछि थारु महिलाहरु पुरुष पोशाक लगाएर गाउँ डुलेका हुन् । हवल्दारपुरबाट निस्केका महिलाहरु गाउँ घुमेका थिए । पुरुष पोशाकमा पानी माग्दै हिड्ने, भ्यागुताको विहे गराइदिनेजस्ता गतिविधि खडेरी तोड्नलाई गरिएको पाइन्छ । यसो गरेपछि पानी गर्ने उनीहरुको विश्वास रहेको छ ।