भूकम्प गएको २७ महिनाः किस्ता पाएकाले घर वनाएनन्, घर वनाउनेले किस्ता पाएनन्

0
Shares

नेपाल समाचारपत्र, रसुवा ।
भूकम्प गएको २७ महिनामा रसुवाका करिव तीन हजार भूकम्प प्रभावितले मात्र घर निर्माण थालेका छन् ।
जिल्ला आयोजना कार्यान्वय इकाइ रसुवाका अनुसार जिल्लाका तीन हजार एक सय ६३ भूकम्प प्रभावितले मात्र घर निर्माण थालेका हुन् ।

समयमा नै घर नवनाएपछि प्रभावितको यो चोटीको वर्षा पनि टहरामा नै वितिरहेको छ । रकम बुझेको प्रभावितमध्ये करिव छ हजारले अझै पनि घर निर्माण थालेका छैनन् ।

कतिपयले पहिलो किस्ता वापतको ५० हजार चाडपर्व मानेर सकाएका छन् भने कतिपयले चाहिँ मैलुङखोला जलविद्युत कम्पनीको शेयर भरेका छन् ।

५० हजारले जग राख्न नपुग्ने भन्दै धेरैले घर निर्माण सुरु नगरेका हुन् । भूकम्प पछि जिल्ला भित्रिएका विभिन्न गैरसरकारी संस्थाले दिएका राहत बापतको जस्तापाताको टहरा वनाएर प्रभावितले २७ महिना कटाएका छन् । अब मंसिरबाट निजी आवास निर्माण थाल्ने घर निर्माण गर्न बाँकी रहेका प्रभावितको योजना छ ।

दोस्रो किस्ता वितरणमा ढिलाई
पहिलो किस्ता पाएर घर नवनाउने त छँदै छन् । तर दोस्रो किस्ताका लागि सिफारिस भएको महिनौँ वित्दा समेत रकम नपाएपछि प्रभावित आक्रोशित भएका छन् ।

यो वर्षामा घर निर्माण सकाएर नयाँ घरमा वस्ने उनीहरुको योजना अधुरै भएको छ । पार्वतीकुण्ड गाउँपालिकास्थित – २ नेसिङका सातप्रसाद तामाङले दोस्रो किस्ता सिफारिस भएको तीन महिना वित्दा समेत रकम नपाएपछि घर निर्माण नै रोकिएको वताउनुभयो ।

प्राविधिकको सल्लाह वमोजिम घर वनाएपनि अन्य १२ जनाले किस्ता पाइसक्दा समेत उहाँले भने किस्ता नपाउनु भएको हो । मान्छे हेरेर किस्ता वितरण गरेको उहाँले आरोप लगाउनुभयो ।

गोसाइकुण्ड गाउँपालिका–६ ठाडेकी लाक्पा याल्मो तामाङले पनि प्राविधिकको सल्लाह अनुसा्र घर वनाए पनि दोस्रो किस्ता महिनौँदेखि रोकेको वताउनुभयो । तामाङले भन्नुभयो ‘पटक पटक फोटो खिचेर लान्छन् । किस्ता पाउछ पनि भनेका छन् । तर कहिले पाउने टुङ्गो छैन् ।’

तथ्याङ्कमा रसुवा
२७ महिनाअघि गएको विनासकारी भूकम्पका कारण रसुवाका ९८ प्रतिशत निजी घर भत्किएका थिए ।
भूकम्पले घर भत्किएपछि सरकारले गाउँगाउँमा तथ्याङ्क संकलन गर्न प्राविधिक खटाएको थियो । पहिलो चरणमा तथ्याङ्क संकलन गर्दा रसुवाका १३ सय ५६ भूकम्प प्रभावित लाभग्राहीको सूचीमा परेका थिएनन् ।
दोस्रो चोटी गरिएको अध्ययनबाट छुटेका लाभग्राहीको नाम समावेश भएपनि अझै पनि वास्तविक भूकम्प प्रभावित छुटेका छन्् ।

जिल्लास्तरीय आयोजना कार्यान्वन इकाइका अनुसार जिल्लामा ११ हजार छ सय २९ लाभग्राही रहेका छन् । ति लाभग्राहीमध्ये १० हजार चार ५३ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।
जिल्ला समन्वय समिति रसुवाका अनुसार अनुदान सम्झौता भएका लाभग्राहीमध्ये नौ हजार सात सय ८१ लाभग्राहीलाई ४८ करोड ९० लाख ५० हजार रकम निकासा भएको छ ।

दोस्रो किस्ता बापत एक हजार चार सय ३८ जनालाई २१ करोड ५७ लाख र तेस्रो किस्ता बापत तीन सय ६२ जनालाई तीन करोड ६२ लाख रकम निकासा भैसकेको छ । हालसम्म ७४ करोड नौ लाख ५० हजार रकम लाभग्राहीकोे खातामा पठाइएको छ ।

सरकारले तीन चरणमा किस्ता वितरण गर्ने भने पनि लाभग्राहीले चौथो चरणमा मात्र पुरै रकम पाउने भएका छन् । लाभग्राहीले पहिलो चरणमा ५० हजार, दोस्रो चरणमा डेड लाख, तेस्रो चरणमा ७५ हजार र चौथो चरणमा २५ हजार रकम पाउनेछन् ।