राजपाको माग निर्वाचन नभई संबिधान संसोधन : अध्यक्ष ठाकुर

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आफूहरु सहभागि नहुने बताउनु भएको छ ।

 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संबिधान संशोधन आफूहरुको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागि नहुने बताउनु भयो ।
उहाँले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पु¥याउन लागे पनि एमाले बिगत देखिनै आफूहरुको मागको बिपक्षमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताउनु भयो ।

आफूहरुका मागका बारे सरकारले स्पष्ट धारणा बनाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भन्नुभयो, सरकारले आफूले गरेको बाचाहरु पुरा नगर्दा समस्या झनै सुल्झिनु भन्दा बल्झँदै गएको छ ।

उहाँले सरकारले दुई चरणको स्थानीय तह निर्वाचनमा राजपाले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरि पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाइएर गर्ने तयारी गरेको बताउनु भयो ।

उहाँले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमाथि सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिबिधि तत्काल बन्द गर्नु पर्ने बताउनुभयो ।उहाँले तराई आन्दोलनका क्रममा भएका घाईतेको उपचार तथा सुरक्षाकर्मीले नियन्त्रणमा लिएकाहरुलाई तत्काल रिहा गर्नु पर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो ।

जनसंख्याका आधारमा मधेशको प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थिति रहनु पर्ने भन्दै यतातर्फ समेत सरकारको ध्यान जान नसकेको भन्दै यस अघि गरिएका सम्झौता र प्रतिबद्धता सरकारले पुरा गर्न नसकेको उहाँले बताउनु भयो ।