जलेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालु भक्तजनहरुको भीड

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको दोस्रो सोमबारीमा पनि श्रद्धालु भक्तजनहरुको भीड देखिएको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको जलेश्वरनाथ संगै टुटेश्वरनाथ, मंगलनाश, सिद्धनाथ लगायतका शिवालयहरुमा बिहानैदेखि भीड देखिएको हो ।

साउन महिनाको प्रत्येक सोमबार भक्तजनहरु जनकपुरधामको दुधमति नदीबाट जल लिई १५ किलोमिटर पैदल हिडेर जलेश्वरनाथ महादेव मन्दिरमा जल चढाई पूजा अर्चना गरेका छन् । यस वर्ष जलेश्वरमा बोलबंम बोलबंम भन्दै आउने पैदल भक्तजनहरुको संख्या निकै बढेको जलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद साहले बताउदै उनले महादेवको पुजा अर्चना गरे पुण्य प्राप्त हुने तथा समृद्धि मिल्ने धार्मिक विश्वास रहेको जानकारी दिए ।

हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन्भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । ब्रत बसेका ब्रतालुहरुले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने चलन रहेको छ । सोमवारीमा विशेषगरी विवाहिता महिलाहरू यस दिन आफ्ना पति, छोराछोरीका साथै परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै व्रत, उपासना र पूूजा आराधना गर्ने चलन रहेको छ ।
यहाँका महादेव वर्षैभरि जलभित्र रहने हुनाले यहाँको महादेवलाई जलेश्वरनाथको नामले चिनिन्छ । मेलामा सुरक्षाका लागि पर्याप्त संख्यामा नेपाल प्रहरी, सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइने तथा साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिने पौराणिक परम्परा समेत रहेको छ ।