सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राखे : एमाले सचिव ज्ञवाली

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले निर्वाचन किस्ताबन्दीमा नभई एकै समयमा गर्न एमाले तयार भएको बताउनुभयो ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा आफनो भोट घट्ने आशंकाले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाउनुभयो ।

नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको भन्दै आशंका समेत गर्नु भयो ।

एमाले संविधान संशोधनको विरोधी नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताउनुभयो ।

तोकिएकै समयमा प्रदेश नं २ मा स्थानीय तह निर्वाचन र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उहाँले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्नु भयो ।

उहाँले सत्तारुढ दलकै आन्तरिक किचलोका कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको बताउनुभयो ।