दाङमा साढे चार हजार बढी मतदाता थपिए

0
Shares

नरेन्द्र केसी दाङ । निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन थालेपछि दाङमा साढे चार हजार मतदाता थपिएका छन् ।

साउन १ गतेबाट नामावली संकलन शुरु गरिएको थियो । पहिलो दिन २६८, दोस्रो दिन ६१७, तेस्रो दिन ७४७, चौथो दिन ६३०, पाँचौ दिन ६०५, छैटौं दिन ६५०, सातौं दिन २९० र आठौं दिन आइतवार ७७२ मतदाताले नाम लेखाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । योसँगै दाङमा ४ हजार ४ सय ७९ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दाङले नाएको छ ।

 

आइतवार जिल्ला निर्वाचन कार्यालयमा निकै भीडभाड देखिएको थियो । निर्वाचन आयोगले स्थानीय तहबाटै मतदाता संकलन गर्ने निर्णय गरेपछि जिल्लाका अन्य भागबाट मतदाता नाम लेखाउन नआए पनि घोराही उपमहानगरपालिकाका विभिन्न वडाबाट जिल्ला निर्वाचन कार्यालयमै आउनुपर्ने भएकाले नाम लेखाउन आउने मतदाताको संख्या घटेको छैन ।

 

पछिल्लो समयमा राजनीतिक दलहरुले नै गाउँबाट अगुवाइ गरेर मतदातालाई ल्याउने गरेकाले पनि मतदाताको संख्या बढेको हो । निर्वाचनको क्रममा धेरै मतदाता छुटेको पाइएकाले कार्यक्रम नै बनाएर मतदातालाई निर्वाचन कार्यालय जान प्रेरिरत गरिरहेको नेकपा माओवादी केन्द्र घोराही उपमहानगर अध्यक्ष विश्वराज आचार्यले जानकारी दिनुभयो । गाउँबाट ल्याउन मात्र होइन, गाउँबाट आएका मतदाताको फाराम भरिदिनेलगायतका स्वयंसेवामा पनि कार्यकर्ता परिचालन गरिएको उहाँले जानकारीदिनुभयो ।

 

यसअघि दाङमा २ लाख ९१ हजार ९ सय ४१ मतदाता रहेका थिए । जसमा १ लाख ४८ हजार २ सय ३१ महिला र पुरुष मतदाता १ लाख ४३ हजार ७ सय ८ रहेका थिए । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ७८ हजार ६ सय ४७ मतदाता रहेका थिए भनेसबैभन्दा थोरै राजपुर गाउँपालिकामा १० हजार ४ सय ५२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

१६ गतेदेखि स्थानीय तहमा पनि
निर्वाचन आयोगले गाउँपालिका र नगरपालिका कार्यालयहरुमार्फत साउनको १६ गते देखि ३२ गते सम्म नाम दर्ताको कार्यक्रम संचालन गर्ने निर्णय गरिसकेको छ । जिल्ला निर्वाचन कार्यालयहरुमा भने निर्वाचन मिति घोषणा नहुञ्जेल मतदाता नामावली संकलन कार्य जारी रहने आयोगले जनाएको छ । त्यस्तै आयोगले जुन जिल्लाको मतदाता भए पनि आफू बसेकै ठाउँबाट नामावलीमा नाम लेखाउने ब्यवस्था गरेको छ ।

 

जिल्ला निर्वाचन कार्यालय दाङमा नामावली दर्ताका लागि आएका मतदाताको भीड