रोजिना मिसेस नेवाः

0
Shares

 

ललितपुर, (नेस)। ललितपुरकी रोजिना शाक्य मिसेस नेवाः को ताज पहिरिन सफल भएकी छिन्। राजधानीको राष्ट्रिय नाचघरमा शुक्रबार आयोजित मिसेस नेवाः मा प्रमुख अतिथि चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले शाक्यलाई ताज पहिर्याएका हुन्। टिफ अफ म्यानेजमेन्ट (केटिएम) द्वारा आयोजना गरिएको मिसेस नेवाः २०१७ हेर्न हरेक प्रतियोगीका श्रीमान्सँगै सासू–सुसुराहरूको पनि उपस्थिति थियो। १४ जना प्रतियोगीलाई उछिनेर रोजिनालाई मिसेन नेवाः घोषित गरिँदा २९ वर्षीया रोजिनाका श्रीमान् शील शाक्यसँगै सासू लक्ष्मी शाक्यको उपस्थिति रहेको थियो।

सबैको उपस्थितिका बीच ताज पहिरिन सफल हुनुले महिला सशक्तीकरणका लागि अझ दह्रासँग अघि बढ्ने मनोबलका साथ नयाँ सम्भावनाको ढोका खुलेको उनले बताइन्। ललितपुर महानगरपालिका–६ की सामाजिक परिचालकसमेत रहेकी शाक्यले भनिन्– ‘यो ताज मलाई अघि बढ्न आत्मविश्वास र हौसलाको प्रतीकका रूपमा रहनेछ।’

‘महिलालाई घरबाहिर
पठाउन नहुने, पुरुष र सासू–सुसुराको नियन्त्रणमा रहनुपर्ने जस्ता पुरातन मानसिकता जरो गाडेको समाजमा विवाहित स्त्रीहरूको सौन्र्दय प्रतियोगिता समाज एक हिसाबले क्रान्तिकारी कदम नै हो’ –हास्यव्यंग्य अभिनेता श्रेष्ठको भनाइ थियो। मिसेस नेवाः मा उमेर छँदै श्रीमान् गुमाउनुपरेका स्वयम्भुका नानीछोरी महर्जनको उत्तरले पनि सहभागीहरू दर्शकलाई निकै भावुक बनाएको थियो। निर्णायक मण्डलमा रहेका मातृभाषा शिक्षाका अभियन्ता दीपक तुलाधरले उनलाई सोधेका थिए– ‘तपाईंको जीवनको आदर्श व्यक्ति को हो?’ उनले सहजै उत्तर दिइन्– ‘राष्ट्रपति विद्यादेवी भण्डारी, जो एकल महिला भएर पनि अघि बढिरहिन्। किनकि म पनि एकल महिला हुँ।’ प्रतियोगितामा ग्रिष्मा तुलाधर फस्ट र सरिता नेम्कुल सेकेन्ड रनर्सअपका साथ बेस्ट हेयर भए। त्यस्तै रमिता वज्राचार्य फोटोजेनिक, एलिशा शाक्य क्याटवाक, गंगा अवाले बेस्ट नेपाल भाषा, सरिता महर्जन पब्लिक च्वाइस र शिला पुजारी बेस्ट स्माइल भए।