पूर्व नेपाल सुन्दरी फिल्म बनाउँदै निर्देशक पति जीपी

0
Shares

 

सन् २००० की मिस नेपाल उषा खड्गी पनि फिल्म निर्मात्री भएकी छिन्। उषाले तिहार लगत्तै सुटिङ थालिने फिल्म आउँदै जाँदै निर्माण गर्ने भएकी हुन्। विज्ञापन र भिडियो निर्माणमा सक्रिय रहँदै आएका उनका पति जीपी तिमिल्सिनाले यही फिल्मबाट निर्देशकका रूपमा डेब्यु गर्दै छन्।

उषा र जीपीले आइतबार राजधानीमा आयोजित एक समारोहबीच फिल्म निर्माणको घोषणा गरेका हुन्। नवनिर्मात्री तथा पूर्व नेपाल सुन्दरी खड्गीले आफ्नो ब्यानरको पहिलो कोशेली सरल र सटिक हुने बताइन्। त्यस्तै फिल्मका निर्देशक जीपी तिमिल्सिनाले फिल्म विशुद्ध रोमान्टिक र कमेडी धारमा हुने बताए। उनका अनुसार फिल्मले २६⁄२७ वर्षे युवाको अभावको कथालाई समेट्ने छ।

चलचित्रका मुख्य पात्र छनोट गर्ने काम ९० प्रतिशत सकिए पनि त्यसले पूर्णता पाउन अझै हप्ता दिन लाग्ने तिमिल्सिनाले बताए। उनले झण्डै १ करोड रुपियाँ बजेट विनियोजन गरिएको फिल्म अस्ट्रेलियामा पनि छायांकन गरिनेसमेत बताए।
कौशल्या फिल्म्स् र एएसएपी इन्टरटेनमेन्ट (अस्ट्रेलिया) को ब्यानरमा निर्माण हुने फिल्मका सहनिर्माताका रूपमा सन्तोष अधिकारी र मनोज श्रेष्ठ रहेका छन्। त्यस्तै सामिप्यराज तिमिल्सिना र प्रज्ञान थापाको लेखन रहेको छ।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकृष्ण बोगटीलगायतले फिल्मको सफलताका लागि कामना गरेका थिए।