क्यान्टिलिभर पुलमा जोखिम बढ्यो



 

सन्तोष अधिकारी, गोरखा
नेपालमै गोरखामा मात्र निर्माण भएको क्यान्टिलिभर पुलमा जोखिम बढेको स्थानीयले बताएका छन्। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम्चेतको सर्दीभीरमा बनेको क्यान्टिलिभरमै माथिबाट ढुङ्गा खस्न थालेपछि जोखिम बढेको स्थानीय सेराप गुरुङले जानकारी दिए। मनास्लु पदमार्गमा पर्ने सो पुल हुँदै त्यस क्षेत्रका स्थानीयसँगै मनास्लु क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूसमेत हिँडडुल गर्ने गर्छन्।

‘ढुङ्गाहरू झर्न थालेको छ’, सेरापले भने– ‘धन्न अहिलेसम्म मानिस, खच्चड हिँडेको बेलामा ढुंगा खसेको छैन र कसैलाई केही भएको छैन। माथिबाट खसेको ढुङ्गाले क्यान्टिलिभरपुलको छेउछेउको रेलिङ नै भाँचिदिएको छ। भूकम्पले हल्लाएको पहाड छ अनि बर्खामा पानी परेर होला झर्न थाल्या छ।’ अहिले मानिसहरू एक्लै एक्लै हिँड्न डर भएको उनले बताए। विदेशी दातृ निकाय डिफिडको आर्थिक सहयोगमा सर्दीभीरमा क्यान्टिलिभर पुल निर्माण भएको हो।

गोरखा भूकम्पपछि उत्तरी गोरखाको दुईवटा भीरहरू सर्दीभीर र यारुबगरको भीरमा डिफिडको सहयोगमा नेपालमै पहिलोपटक क्यान्टिलिभर पुल निर्माण गरिएको थियो। ‘माथिबाट ढुंगा खस्न थालेको रहेछ’, चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने– ‘अहिले मानिसहरू त्यहींबाटै हिँडिरहेका छन् तर जोखिम बढेको छ। त्यसलाई कसरी रोकथाम गर्न सकिन्छ हामी हेर्दै छौं।’

प्रतिक्रिया दिनुहोस्