पहिरोका कारण बेनी–जोमसोम सडक फेरी अवरुद्ध

0
Shares

नेपाल समाचारपत्र, म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक पुनः अबरुद्ध बनेको छ । गए रातीदेखि परिरहेको निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको जलथले र रघुगंगा गाउँपालिका–३ राखुपिप्लेको घुमाउनेतालमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

मुस्ताङ जिल्ला र म्याग्दीको उत्तरी भेग जोड्ने सीधा सडक सुविधा सम्बन्धबिच्छेद हुँदा यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातीदेखि परेको वर्षाका कारण शनिबार बिहानैदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो ।

अवरुद्ध सडक खुलाउनका लागि दुवै स्थानमा सडक विभागको डोजर स्ट्याण्डबाइ राखिए पनि निरन्तर वर्षा भैरहेको र पहिरो खसिरहेको हुँदा सडक खुलाउन नसकिएको उहाँले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा उत्तरी म्याग्दीका विभिन्न क्षेत्रका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका भारतीय धार्मिक पर्यटकसहितका यात्रु र सर्वसाधारणहरु अलपत्र परेका छन् ।

कालीगण्डकी करिडोर योजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले तत्कालै बाटो खुल्ने सम्भावना कम रहेको बताउनुभयो । पहिरो खस्ने क्रम रोकिएपछि सडक मर्मतको कार्य शुरु गरिने बताउँदै पैदलयात्रीलाई नारच्याङ हँुदै वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको उहाँको भनाई छ । अवरुद्ध सडकखण्ड आसपासमा नेपाली सेना र नेपाल प्रहरीले समेत यात्रुलाई सहज मार्गको प्रयोगमा सघाइरहेका छन् ।

वर्षायाममा पटकपटक अवरुद्ध हुने सडक खुलाउन सम्बन्धित गाउँपालिका र अन्य निकायको विशेष पहलमा प्रयास गरेपनि वर्षाकैे कारण दैनिकजसो सडकलाई नियमित सञ्चालनमा ल्याउन चुनौती देखिएको छ । सो सडकखण्ड अन्तरगत केही ठाउँमा सडक समेत चर्किएको छ । उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङसँगको सिधा यातायात सम्र्पकविच्छेदलाई लामो समयसम्म रहन नदिनका लागि गाउँपालिकाले सडक विभागको ध्यानार्कषण गराइसकेको जनाएको छ । हाल बेनी–जोमसोम सडकमा बस, जीपकार, ट्याक्सी, मालबाहक ट्रकलगायत दैनिक २ सयबढी सवारीसाधनहरु गुड्ने गर्दछन् ।