बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

0
Shares

 

बैतडी, ७ साउन । गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बांगाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हँुदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । अवरुद्ध सडक खुलाउन डोजर लगाइएको र अपराह्नसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

यातायातका साधन पूर्ण रुपमा बन्द हँुदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएको बताइएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँ, कञ्चनपुर, धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।

विसं २०६० मा आएको उक्त पहिराको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहँुदा वर्षात्मा प्रत्येक वर्ष उक्त ठाउँमा बेला बेलामा सडक अवरुद्ध हुने गरेको छ । विसं २०६० असारमा आएको पहिराले बांगाबगर–६का घर पूर्ण रुपमा नष्ट गरेको तथा एक सय ५० रोपनी जमिनलाई बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिराले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । रासस