नेपालको लगातार दोस्रो जित


 

नेपाल समाचारपत्र
काठमाडौं
आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ।
मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले पाँच विकेटको नोक्सानीमा केवल ९.५ ओभरमा पूरा गरेको थियो। प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित थियो। नेपालको जितमा ओपनर आसिफ शेखले २३ रनको योगदान दिए। उनले २० बलमा पाँच चौका प्रहार गरेका थिए। त्यस्तै प्रनित थापा मगर १८ रनमा नटआउट रहेका थिए।ं जसमा उनले एक चौका र एक छक्का प्रहारसमेत गरे।

अन्य नेपाली ब्याटसम्यान भने खुलेर खेल्न सकेनन्। ओपनर सन्दीप सुनार ६ रनमा आउट भएका थिए। उनी पहिलो खेलमा झै चाँडै आउट भए। आदील खानले पाँच रन जोडे भने दीपेन्द्र सिंह ऐरी पनि दोस्रो खेलमा सस्तैमा आउट भए। उनी चार रनमा पवेलियन फर्केका थिए। अनिल शाहले खाता पनि खोल्न सकेनन्। मलेसियाको बलिङमा हफिजुद्दीन घफारले सर्वाधिक तीन विकेट हात पारेका थिए।

यसअघि खेलमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले २५.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र जोड्न सक्यो। ओपनर शुकोरलाई पहिलो ओभरमै शुन्यमा गुमाएको मलेसियाले दोश्रो विकेट भने १२औं ओभरमा गुमाएको थियो। पहिलो खेलमा सिंगापुरविरुद्ध म्यान अफ द म्याच घोषित सन्दीप लामिछाने ५ विकेट हासिल गरे।

नेपाली कप्तान लामिछानेले ८ दशमलव ४ ओभरमा केवल १७ रन खर्चेका थिए। उनी यस खेलमा पनि म्यान अफ द म्याच घोषित भए। त्यस्तै पवन शराफले तीन ओभरमा ९ रन दिएर ३ विकेट लिएका थिए। नेपालले भोलि अफगानीस्तानसँग खेल्नेछ। ४ राष्ट्र सम्मिलित समूहमा नेपाल र अफगानिस्तानले दुई दुई खेल जितेका छन्। नेट रन रेटमा नेपाल दोस्रो स्थानमा रहेको छ।