बजेट सक्ने नाममा जथाभावी डोजर लगाएर जलविद्युत पोखरी भत्काए, ६५ घर अंधेरोमा


धनवीर दाहाल, रुकुम ।

रुकुमको त्रिवेणी गाउँपालिका वडा नं. १० पेउघाको भूम्केखोला साना जलविद्युतको पानी पोखरी आईतबार रातीको अबिरल वर्षाका कारण माथिबाट आएको पहिरोले भत्किएको छ । जलविद्युतको पानी पोखरी भत्किएसंगै विद्युत सेवा समेत अवरुद्ध हुँदा ६५ घरपरिवार अंधेरोमा बस्न बाध्य भएको स्थानीयले बताएका छन् । नौ वर्ष पहिले जिल्ला विकास समिति, भूसंरक्षण, कृषि तथा गाविसको झण्डै १५ लाख आर्थिक लागत र स्थानीयको श्रमदानमा उक्त पानी पोखरी निर्माण गरिएको थियो । निर्माणाधिन पानी पोखरी पहिरोले भत्किंदा स्थानीयबासी चिन्तित् बनेका छन् ।

 

सोही पहिरोले स्थानीय बासिन्दा धनसिंङ खड्का र तेज बहादुर ओलीकोे घर पनि उच्च जोखिममा परेका छन् । पहिरोले खड्काको परिवार विस्थापित भई हाल छिमेकीको घरमा बसिरहेको र ओलीको परिवारले भने आफ्नै अर्को एक घरमा बसाई सारेको छ । विस्थापित खड्काको परिवारले आफ्नो घर नै जोखिममा परेपछि राहत संगै बस्ने बासको व्यवस्था गरिदिन सरोकारवाला निकायसंग आग्रह गरेको छ ।
लगातारको बर्षातका कारण रुकुमका अन्य ठाँउमा पनि पहिरो गएको छ भने कतिपय बस्तीहरु जोखिममा रहेका छन् । रुकुमको स्रिमुतु बजार पनि उच्च जोखिममा रहेको छ । त्रिबेणी गाँउपालिकाको सिम्रतु बजारमा तिन तिरबाट ठुला ठुला खोलाहरु भएकोले हरेक बर्ष ति खोलाहरुमा बाढी आइरहने स्थानीय मनबहादुर चन्दले बताए । यसै गरी पितिबाङ खोलामा पनि जोखिम मोलेर यातायात आवत जावत गर्ने गरेका छन् । ठुलो पानी परेपछि सो खोला बढ्ने गरेको छ । यस्तै असार मशान्तको बेलामा जथाभावी डोजर लगाउनाले ठाँउ ठाँउ पहिरो गएको र जमिन कमजोर भएपछि स्थानीय त्रसित भएका छन् । बजेट सक्ने नाममा असार मशान्तको समयमा डोजर लगाउने र काम बिचैमा छोड्नाले झनै समस्या भएको छ ।