अधिकारकर्मी ठगी मुद्दामा जेल, बेचबिखनका अभियुक्तलाई छुटाइदिने भन्दै रकम झ्वाम

0
Shares

नेपाल समाचारपत्र, बाँके । अधिकारकर्मी भनेर ‘तडक–भडक’ गर्ने दुई महिला ठगी मुद्दामा कारागार पुगेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार पुगेका व्यक्तिलाई छुटाइदिने भन्दै दुई लाख ८५ हजार लिएका पुष्पा पथिक र विमला विश्वकर्मालाई प्रहरीले ठगी मुद्दा चलाएको हो । जिल्ला अदालतको आदेशमा धरौटी बुझाउन नसकेपछि दुवै जना सोमबार कारागार चलान भएका छन् ।
एक वर्षअघि सुर्खेतकी किशोरीलाई भगाएर भारतमा पु¥याएका बाँकेका इसराइल अन्सारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा परेको थियो । सुर्खेतमा फर्निचरको काम गर्ने अन्सारीले स्थानीय किशोरीलाई भगाएका थिए । किशोरीका घरपरिवारले अन्सारीविरुद्ध बेचबिखन मुद्दा दायर गरेका थिए । किशोरीलाई ‘मिलाइदिन’ भूमिका खेल्ने अरु दुई जनालाई प्रहरीले तत्काल नै पक्राउ गरेको थियो । उनीहरु केही दिनमा छुटे । दुई जना छुटेको थाहा पाएपछि अन्सारी पनि प्रहरी कार्यालयमा आफै उपस्थित भएका थिए । उनलाई अदालतले कारागार पठायो ।

सरकारी कार्यालय, संघ संस्थाका कार्यक्रमका साथै प्रहरी कार्यालयमा सधैंजसो आवतजावत गर्ने पुष्पा र विमलाले अन्सारीका घटना थाहा पाए । त्यसपछि उनीहरुले अन्सारीका आमा जैनव अन्सारीलाई पाँच लाख दिएमा अन्सारीलाई छुटाइदिने बताउन थाले । दुवैतिरबाट छलफल र बार्गेनिङमा तीन लाख हुँदै २ लाख ८५ हजारमा कुरा मिल्यो । गत माघमा अधिकारकर्मी बताउने दुई जनाले पैसा बुझे ।

अदालत, प्रहरीलाई मिलाउन पैसा दिएपछि जैनवलाई छोरी कहिले छुट्छ भन्ने आशा बढ्दै गयो । एक महिना, दुई महिना हुँदै चार महिना हँुदासमेत छोरा छुटेनन् । त्यसपछि जैनवलाई आफू ठगिएको आशंका लाग्यो । र, प्रहरी कार्यालयमा जेठमा उजुरी दिइन् ।

शुरुमा प्रहरीले पुष्पा र विमलालाई राम्रै व्यवहार गरेका थिए । सधैं पीडित महिलाहरुको पक्षमा भन्दै प्रहरी कार्यालयमा आइरहने उनीहरुलाई प्रहरीले ‘पैसा फिर्ता दिनुस्, मिल्नुस्’ भन्ने सुझाव दिएको स्रोतले बतायो । प्रहरीले यसो भनिरहदा अधिकारकर्मी बताउने दुई जनाले आफूलाई ‘टर्चर’ दिइएको महसुस गरेर माओवादी केन्द्रका नेताहरुकहाँ पुगे । नेताहरुकै सल्लाहमा दुवैले प्रहरीले अनावश्यक टर्चर दिएको भन्दै उल्टै मुद्दा हाले । त्यसपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढायो ।

गत असार ६ गते दुवैलाई पक्राउ गरियो । र, साउन १ गते मुलुकी ऐन ठगी महलअन्तर्गत हदैसम्मको कारबाहीको सजाय हुन मागदावी लिई बाँके जिल्ला अदालतमा प्रहरीले ठगी मुद्दा दायर गरेको छ ।

स्रोतका अनुसार, पछिल्ला दिनमा दुवै जनालाई जैनवसँग लेनदेनको कागज बनाएका छन् । जेठ ७ गते बनेको लेनदेनको कागजमा घर खर्च वापत पैसा लिइएको उल्लेख गरिएको छ । ४० हजार पनि दिएका थिए । अरु दिन सकेनन् ।

सोमबार जिल्ला अदालतले दुवैको हकमा जनही एक लाख ६० हजार रुपैया धरौटी माग्यो । धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् ।

बाँके प्रहरीले बिचौलियाविरुद्ध अप्रेसन चलाएको छ । कार्यालयमा पीडित महिलाहरुलाई लिएर आउने र ‘मिलाइदिने’ बहानामा पैसा लिनेविरुद्ध अप्रेसन चलाएको प्रहरी निरीक्षक बीरबहादुर थापाले बताउनुभयो । ‘यस्ता बिचौलिया अरु धेरै छन् । सबैजसो हाम्रो निगरानीमा छन्, प्रहरी निरीक्षक थापाले भन्नुभयो, ढिलोचाडो सबैलाई कारबाही गर्छौ ।’ बाँके प्रहरीले यसअघि पनि तीन जना बिचौलियालाई कारबाही गरेको थियो ।

जानकारहरुका अनुसार, प्रहरी कार्यालयमा थरीथरीका बिचौलियाले अड्डा नै जमाएर बसेका हुन्छन् । यस्तामा केही नेताहरु पनि रहेको स्रोतको भनाई छ । बाँके प्रहरीका प्रमुख एसपी टेकप्रसाद राईले भने जिप्रकामा नेताहरुको दौडधुपमा कमी आएको बताउनुभयो ।

ठगी मुद्दामा कारागार पुगेका दुई महिला भने विभिन्न कार्यक्रमहरुमा होटलहरुमा जाने, सरकारी कार्यालयदेखि प्रहरी कार्यालयमा पुगेर वकालत गर्ने गरेका थिए । प्रायः संगै हिड्ने यी दुई जनाले पीडितलाई मिलाइदिने भन्दै रकम लिने गरेको बजारमा धेरै चर्चा थियो, एक महिला अधिकारकर्मीले भनिन् ।