मुहार फेर्दै रानीतलाउ

0
Shares

बाँके, (नेस) ।
नेपालगञ्ज उपमहानगरपालिकाले रानीतलाउको सम्भार गर्ने उद्देश्यले काम थालेको छ ।

लामो समयदेखि रेखदेखको अभाव र बेवास्ताका कारण सुख्खा बनेको पोखरीमा टन्न उम्रिएका घाँसको सरसफाईबाट यसको सम्भारको काम थालिएको हो ।

निर्वाचित भएपछि असार २२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मेयर डा. धवल शमशेर राणाले रानीतलाउ जीर्णोद्धार गर्ने उच्च प्राथमिकतासाथ निर्णय गर्नुभएको थियो । रानीतलाउलाई जीर्णोद्धार गर्ने संकल्प राणाको निर्वाचन लड्दा सार्वजनिक घोषणा–पत्रको बु“दामध्ये पनि समेटिएकै थियो ।

नेपालगञ्जसँगै रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै महत्व छ । चार दशक अघिसम्म रानीतलाउको स्वरुप नै अर्को थियो । चारैतिर खुला अवस्थाको तलाउ (पोखरी)मा स्थानीयले नुहाउने, धार्मिक कर्मकाण्ड गर्ने गरेका थिए ।

त्यसबेला आकाशे पानी जम्मा भएर पनि सफा नै हुने गरेकाले सर्वसाधारणले नुहाउन प्रयोग गर्ने गरेको जानकार बताउँछन् । ‘रानीतलाउमा चार कुनामा रहेका स्तम्भमा पौडी खेल्नेहरुले हाम फाल्ने र मध्यभागमा रहेको स्तम्भमा पुगेर विश्राम गर्ने गर्दथे,–नेपालगञ्ज वडा ८ निवासी विष्णुलाल कुमालले भन्नुभयो ।

त्यतिमात्र नभइ रानीतलाउको पूर्व भागमा रहेको ठूलो पिपलको रुखमा पूजाआजा गर्ने र दिवंगत भएकाहरुले पितृ तर्पणलगायतका धार्मिक कर्म गरिआएका थिए । होली पर्वका बेला होली जलाउने र पूजा अर्चना गर्ने परापूर्वदेखिको परम्परा अहिले पनि कायम नै रहेको छ ।

अहिले पनि होलिका दहन रानीतलाउको पूर्व निर्धारित स्थानमा नै गरिन्छ । त्यसका लागि वर्षमा एक पटक पूर्वको ढोका खोलिने गरिएको छ ।

रानीतलाउको मुहार फेर्ने र त्यसमा जलविहार गर्ने योजना वि.सं. २०४९ मा निर्वाचित मेयर विजयकुमार गुप्ताको समयमा नै बनेको जानकारहरु बताउँछन् ।

नेपालगञ्ज नगर विकास समितिको तत्कालीन अध्यक्षसमेत रहेका गुप्ताले न्यूरोड निर्माण, एकलैनी बाटो विस्तार, रानीतलाउ तथा तत्कालीन महेन्द्र पार्कको ढाँचामा परिवर्तन गरी हेर्ने लायक बनाउने योजना गरिएपनि आर्थिक कारण र मेयर गुप्ताको कार्यकाल सकिएकाले रानीतलाउ र महेन्द्र पार्क योजनाले पूर्णता पाउन सकेको थिएन ।

२०५४ मा मेयर निर्वाचित डा. धवल शमशेर राणाको पालामा रानीतलाउको मुहार फेर्नुका साथै बोटिङ्ग गर्ने व्यवस्था गरियो । तर, राणाको कार्यकाल सकिएको केही समयपछि स्थानीय निकाय सञ्चालन कर्मचारीहरुबाट हुन थाल्दा रानीतलाउ उपेक्षित बन्न पुग्यो ।

भएको बोटिङ्ग बन्द हुनुका साथै पोखरीको सौन्दर्यता बनाइराख्न उदासीन कर्मचारीहरु रानीतलाउ माछापालन गर्ने र त्यसको ठेक्का दिने कामतिर उन्मुख भए ।

यसबीच बेलाबखत रानीतलाउ जीर्णोद्धार गर्ने नाममा राम्रै धनराशि छुट्ट्याएर खर्च गरिएको देखाइएपनि त्यस अनुरुप काम हुन नसकेको त्यहाँको वर्तमान अवस्थाले स्पष्ट गर्दछ । पछिल्लो समय रानीतलाउको क्षेत्रफल घटाइएर बोटिङ्ग गर्न साँघुरो हुने भएको छ ।

पोखरी सरसफाइ र मर्मसम्भार गर्न २५ लाखबढी रकम खर्चिएर सामान्य मर्मत, रंगरोगन र पोखरीमा गिट्टी (छर्री) हाल्ने कामबाहेक केही हुन नसकी करिब एक वर्षयता रानीतलाउ सुख्खा खाल्डोमा परिणत भएको छ ।

आर्थिक वर्षको अन्त्यमा कोषमा रहेका केही रकमले रानीतलाउको सम्भार शुरु गरिएको छ । मेयर राणा, उपमेयर उमा थापा मगरसहितको टोलीले तलाउको अवस्था अवलोकन गरेसँगै काम थालिएको हो ।

यद्यपि, वर्षा याममा रानीतलाउ जीर्णाद्धार र पूर्ववत सञ्चालन जस्तो महत्वाकांक्षी योजनाले पूर्णता पाउने संभावना कमै देखिएको छ ।