टीका बन्धन, काठमाडौं
आगलागीले पुर्याउन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका २ सयभन्दा बढी स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरिने भएको छ।
मेलम्चीको पानी वितरण गर्ने क्रममा उपत्यकामा विस्तार भइरहेको पाइप लाइनकै संरचनामा आगलागी नियन्त्रणका लागि सघाउ पुर्याउने संरचना निर्माणको तयारी गरिएको हो। ‘फायर हाइड्रेन्ट’ मुख्यतया दमकलले आवश्यकताअनुसार जुनसुकै बेला पानी भर्न र आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो।
दमकल ओहोर–दोहोर गर्न मिल्ने सडक किनारा आसपासका क्षेत्रमा २ सयभन्दा बढी क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ निर्माण गर्ने कार्य अघि बढेको मेलम्ची परियोजनाको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो।
उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले बिच्छइइको पाइपलाइनको संरचनालाई जोडेर त्यस्तो व्यवस्था गर्न लागिएको हो, कुन–कुन स्थानमा त्यस्तो संरचना बनाउन सकिन्छ भनेर बुझ्ने र जडान गर्ने काम पनि सँगसँगै अघि बढिरहेको छ।’
मेलम्चीको पानी वितरणका क्रममा पहिलो चरणमा उपत्यकामा बिच्छइइने ६ सय ७० किलोमिटर पाइपलाइनसँगै जोडिएका आसपासका क्षेत्रमा दमकलमैत्री संरचना निर्माण हुने खत्रीले बताउनुभयो।
दमकल ओहोर–दोहोर गर्न मिल्ने सडक किनारा आसपासका क्षेत्रमा २ सयभन्दा बढी क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ निर्माण गर्न लागिएको हो ।
पछिल्लो अवधिसम्ममा ६ सय १० किमि क्षेत्रमा पाइपलाइन विस्तार भइसकेको निर्देशनालयले जनाएको छ। काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा आगलागी नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय छन्।
काठमाडौंमा भएका जम्मा ६ मध्ये ३ वटा दमकल चालु अवस्थामा छन् भने ललितपुरमा भएका सबै ४ वटा चालु अवस्थामा रहेको त्यहाँका नगर प्रहरी प्रमुख पद्मलाल महर्जनले जानकारी दिनुभयो। भक्तपुरमा भएका जम्मा ६ मध्ये ४ वटा थन्किएका छन् भने २ वटा मात्रै चालु अवस्थामा छन्।
३ वटै जिल्लामा दमकल सेवा भए पनि आगालागी हुने सम्भावितस्थल आसपासका क्षेत्रमा दमकलले भर्ने पानीका स्रोत पर्याप्त नहुँदा समयमा आगलागी नियन्त्रण गर्न समस्या हुँदै आएको छ।
काठमाडौंका दमकल महांकालसम्म पुगेर पानी भर्नुपर्ने बाध्यता छ। तर अहिले धेरै स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण कार्य अघि बढेकाले दमकलको सेवा चुस्त र प्रभावकारी हुने आयोजना कार्यान्वयन निर्देशनालयका प्राविधिकहरूको तर्क छ।
यसैबीच मेलम्चीको पानी वितरणमा अत्याधुनिक ‘स्क्याडा’ प्रविधि प्रयोग हुने भएको छ। अत्याधुनिक उपकरण र प्रविधि जडित विशेष कक्षमार्फत घर–घरमा वितरण गरिएको पाइपलाइनको अवस्था, पानीको चाप, गुणस्तर, चुहावट, खपत जस्ता पक्ष नियाल्न सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो।
‘उपभोक्ताले कति पानी खपत गरे भनेर घर–घर पुगेर प्राविधिकहरूले मिटर हेरेर बिल तयार गर्नुपर्दैन, विशेष उपकरणसहितको कन्ट्रोल रुमबाट त्यस्ता धेरै पक्ष नियाल्न सकिन्छ।’ –उहाँले भन्नुभयो।
ढकालका अनुसार उपत्यकामा निर्माणाधीन ९ रिर्जभवायरसहित यसअघि अनामनगर र मीनभवनमा निर्माण भएका २ वटा रिजर्भवायरलाई पनि एउटै सञ्जालमा एकीकृत गरेर विशेष कक्षले नियाल्नेछ। त्यस्तो विशेष कक्ष निर्माणबारेको सम्भावित अध्ययन⁄अनुसन्धान पूरा भइसकेकाले निर्देशनालयले बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।
पानीपोखरी र महांकाल क्षेत्रमा २ वटा अत्याधुनिक कक्ष निर्माणका लागि करिब ७० करोड रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको निर्देशनालयका निर्देशक खत्रीले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘भूकम्प र अन्य प्राकृतिक प्रकोपले पुर्याउन सक्ने सम्भावित क्षतिलाई ख्याल गर्दै फरक स्थानमा २ वटा विशेष कक्ष बनाउनुपर्ने आवश्यकता देखिएको हो।’
प्रतिक्रिया