पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड

0
Shares

  • विजुलीको तारलाई भूमिगत विछ्याईने
  • प्रत्येक वडामा बैंक
  • वडामा एम्बुलेन्ससहितको स्वास्थ्य केन्द्र
  • शहर स्मार्टसिटी, गाँउपालिकाक स्याटलाईट शहर
  • चक्रपथ निर्माण अध्ययन
  • केरुङ—काठमाडौं—पोखरा हुदैं लुम्बिनीसम्म रेलमार्ग
  • कोरला—त्रिवेणीसम्म स्थल मार्ग

धन बस्नेत, पोखरा ।

पोखरा महानगरपालिकाले पाँचवर्षे जनप्रतिनिधिको समयमा महत्वाकाक्षी योजना सार्वजनिक गरेका छन् । विशेष गरी पोखराको बजारमा छरपष्ट देखिने विजुलीको तारलाई अण्डरग्राउण्ड गर्ने महत्वपूर्ण योजना सार्वजनिक गरिएको छ । त्यतिमात्रै नभई एक वडा एक बैंकको नीति अबलम्बन गरेको छ । वडालाई विशेष महत्व दिदैं प्रत्येक वडामा एम्बुलेन्ससहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफनो बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै योजनाहरुलाई बुदाँगत रुपमा सुनाए ।

 

योजनालाई कार्यान्वयनमा लैजान महानगरपालिकाले महानगरपालिकाको पहिलो नगरसभा मार्फत पास गरिएको आर्थिक वर्ष २०७४÷०७५ को लागि ४ अर्ब ३ करोड ८५ लाख रुपैयाँको बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरियो । पोखरा लेखनाथ महानगरपालिकाका मेयर जिसीले नीति तथा कार्यक्रम मार्फत सरकारी अनुदान दुई अर्ब ३१ करोड ९२ लाख र स—शर्त अनुदान २५ करोड ५० लाख गरी कुल २ अर्व ५७ करोड सहित ४ अर्व ३ करोडको बजेट प्रस्तुत गरे ।

 

उनले पोखरालाई स्मार्ट सिटीको विकास गर्दै वरपरका गाँउपालिकालाई स्याटलाईट शहरको रुपमा विकास गर्ने योजना सुनाए । बढ्दो सवारी साधनको व्यवस्थापन र सडक विस्तारसँगै पोखरालाई अत्यावश्यक बन्दै गएको चक्रपथ निर्माणमा पनि चासो देखाएका छन् । उनले तीन वटा चक्रपथ निर्माणको लागि अध्ययन गरिने बताए । ‘कोरलादेखि त्रिवेणीसम्म स्थलमार्ग निर्माण, केरुङ—काठमाडौं—पोखरा हुदैं लुम्बिनी जोड्ने रेलमार्ग निर्माण गर्ने छौं ।’ उनले आफनो योजनालाई बिहीबार सार्वजनिक गर्दै भने—‘ओभर हेड ब्रिज र फ्लाई ओभर निर्माण गरी पोखराको ट्राफिक व्यवस्थापनलाई बैज्ञानिकीकरण गर्ने छौं ।’

 

पुराना र थपिएका गरी ३३ वटालाई समेट्दै नयाँ बजेट सार्वजनिक हुदाँ नयाँ विकासले गतिले लिने विश्वास गरिएको छ । कर तथा राजश्वबाट १ अर्ब ३८ करोड, राजश्व बाँडफाँडबाट ३ करोड, अन्य आयबाट ५ करोड गरी १ अर्व ४६ करोड ४० लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष्य रहेको छ । जुन कुल बजेटको ४०.७१ प्रतिशत हुन आउछ ।

 

जिसीले सबै भन्दा बढि रकम सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख विनियोजन गरेका छन् । कोष व्यबस्थापन तर्फ १५ करोड ५० लाख, पूर्वाधार विकास क्षेत्र तर्फ १ अर्ब ३६ करोड ५३ लाख, वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ १३ करोड ६५ लाख, सामाजिक विकाश क्षेत्र तर्फ १५ करोड १० लाख, आर्थिक विकाश क्षेत्र तर्फ २ करोड ३० लाख, वित्तिय व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ करोड १० लाख रहेको छ ।

 

सस्थागत विकाश तथा सेवा प्रबाह क्षेत्र तर्फ १ करोड २५ लाख, शसर्त अनुदान ७८ करोड ३९ लाख, लागत सहभागिता १५ करोड, फोहोर मैला ब्यवस्थापन ९ करोड, प्रशासनिक खर्च ३० करोड ८४ लाख, वडागत बजेट विनियोजन ३५ करोड १० लाख रहेको छ ।

 

सफा शहरको रुपमा परिचित पोखरालाई व्यवस्थित बनाउन क्लिन एण्ड ग्रिन सिटीको अवधारणा समेत अगाडि सारिएको छ । शहरलाई उज्यालो बनाउने कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ । प्रत्येक वडामा सहकारी पसल र मेट्रो एफएम सञ्चालन गरिने समेत महानगरपालिकाले जनाएको छ ।

 

महानगरपालिकाबासीलाई स्मार्ट कार्ड प्रदान गरिने लक्ष्य समेत रहेको सुनाए । पाँच वटा सार्वजनिक शौचालय बनाई खुल्ला दिसामुक्त शहरलाई अझ प्रभावकारी बनाउने ध्येय समेत महानगपालिकाले लिएको छ ।