मेयर राणाका योजना– तीन महिनामा नगर सफा, भित्री बाटो चौडा र पिच

0
Shares

भ्रष्टाचारमुक्त नगरपालिका 
थपिएका वडालाई विशेष प्राथमिकता
नयाँ नगर भवन बनाइने
सरकारी जग्गाको रेकर्ड राख्ने

नेपाल समाचारपत्र, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले तीन महिनामा नगरलाई सफा बनाई भित्री सडक चौडो र पिच गर्ने बताउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा मेयर डा. राणाले आफू आइसकेपछि पर्साका सांसद राजकुमार अग्रवालको रकमले नगरपालिकालाई तीन वटा ट्याक्टर उपलब्ध गराएको स्मरण गराउदै सफा नेपालगञ्ज बनाउन लागि परेको बताउनुभयो ।

‘अहिले ६ वटा ट्याक्टरले फोहोर उठाइरहेको छ । ठेला, फुटपाथका व्यवसायीलाई पनि डस्बिन दिन्छौं र जथाभावी फोहोर हुन दिदैनौ, मेयर राणाले भन्नुभयो, २÷३ महिनामा नगरलाई सफा बनाउने योजनामा लागि परेका छौं ।’ मेयर राणाले भावी योजना बनाइरहदा अहिले नेपालगञ्ज नगरमा दैनिक ३२ टन फोहोर संकलन हुँदा मुश्किलले २५ टन व्यवस्थापन भइरहेको छ । जबकी नगरमा थपिएका दश वटा साविकका गाविसमा फोहोर संकलन नै हुँदैनन् । मेयर राणाले थपिएका साविकका दश वटा गाविसलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

मेयर राणाले नेपालगञ्ज बजारभित्र ४० किलोमिटर सडक चौडो र पिच गर्ने काम अगाडि बढिसकेको बताउनुभयो । ‘सदरलाइन, घरबारीटोल, एकलैनीलाई व्यवस्थित गर्ने काम अघि बढेको छ, यी ठाउँमा स्तरीय सडक बन्छन्, जसले नेपालगञ्जको बजारलाई रौनकता दिन्छ, राणाले भन्नुभयो, सदरलाइन फराकिलो बनाउन अब कुनै सूचना निस्किदैन । तीन महिनामा घरधनीले आफै सडक अतिक्रमण नहटाए बुलडोजर चल्छ । र, त्यसको पैसा असुल गरिन्छ ।’ वर्खाको समय भएकाले नेपालगञ्जका सडक पानी पर्ने बित्तिकै हिलाम्य हुने र दुई दिन घाम लाग्दा धुलाम्य हुने अवस्था रहेको छ । मेयर राणाले हिड्नै नमिल्ने गरी हिलाम्य भएका ठाउँमा एक लाख बराबरको ग्राभेल हाल्न वडाध्यक्षहरुलाई निर्देशन दिएको बताउनुभयो । ‘यो राहतको ग्राभेल हो ।

वडाध्यक्षले हिड्नै नमिल्ने गरी हिलाम्य भएका ठाउँमा हाल्न सक्छन्, डा. राणाले भन्नुभयो ।  मेयर राणाले नेपालगञ्जलाई सुन्दर, विकसित, शान्त र सफा बनाउनका लागि नगरपालिकालाई भ्रष्टाचारमुक्त गराउन आवश्यक रहेको बताउनुभयो । ‘विगतमा के भयो त्यो नकोट्याउनुस्, मैले भ्रष्टाचार हुन दिदैन, डा. राणाले भन्नुभयो । उहाँले वर्षौ पुरानो नगर भवनलाई बिस्थापित गरेर नयाँ र व्यवस्थित नगर बनाउने उद्घोष गर्नुभयो । ‘नगर भवन बनाउनका लागि जग्गा खोज्ने काम भइरहेको छ, राणाले भन्नुभयो, यो पुरानो नगर भवनलाई पछि पार्किङ या सफिङ कम्प्लेक्स बनाउन सकिन्छ ।’ मेयर राणाले नगरभित्र रहेका ऐलानी र सरकारी जग्गा खोज्न निर्देशन दिइसकेको बताउनुभयो । ‘ठूल्ठूूला आयोजनाहरु पूरा गर्न जग्गाको आवश्यकता पर्छ ।

त्यस्ता जग्गा नगरभित्र कति छन् । त्यसको रेकर्ड राख्न भनिसकेको छु, राणाले भन्नुभयो । स्रोतका अनुसार, साविकको १७ वडाको नगरमा २९ विगाह जति सरकारी जमिन रहेको छ । अधिकांश ठाउँमा अतिक्रमण भइसकेको छ । सार्वजनिक सुनुवाईमा उठेको प्रश्नहरुको जवाफ दिदै राणाले वाटरपार्क, कान्ति तलाउ, रानीतलाउको संरक्षण र सञ्चालनमा जोड दिनु भएको थियो । उठेको प्रश्नको उपमेयर उमा थापामगर, सम्बन्धित वडाध्यक्षहरुले उत्तर दिएका थिए । उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले जेठमा ठूला नाली र अहिले साना नालीहरु सफा गरेर डुवान हुन नदिने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले ५÷६ महिनामा नगरपालिकाले ल्याण्डफिलसाइट निर्माण गरिसक्ने जानकारी दिनुभयो । नगरपालिकालाई अहिले फोहोर फाल्ने ठूलो समस्या रहेको छ ।