राष्ट्रपतिलाई सामाजिक सञ्जालमा अपमानजनक शव्द प्रयोग गर्ने पत्रकार पक्राउ

0
Shares

सलिम अन्सारी
प्यूठान । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जालमा अपमानजनक शव्द प्रयोग गर्ने कपिलवस्तुका एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । रेडियो तौलिहवाका पत्रकार सोनुकुमार सुनारले राष्ट्रपति विद्यादेवी भण्डारीको गाडी खरिद प्रकरणसँग जोडेर सामाजिक सञ्जालमा अपमानजनक शब्द प्रयोग गरेका थिए ।

पत्रकार सुनारलाई तौलिहवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पत्रकार सुनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधवार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारको स्थायी घर भने प्यूठान जिल्लामा हो । पत्रकार सुनारले अत्यन्तै तुच्छ शब्द प्रयोग गरेर फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्दै आएका थिए ।

प्रहरी उपरीक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएका छन् । यता, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले भने फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जथाभावी लेख्ने सुनारलाई हदैसम्मको कारबाही माग गरेका छन् । उनले यस अघि प्रचण्ड, देउवा लगायतका नेतालाई पनि त्यस्तै अपमानजनक शब्द प्रयोग गरेको बताइएको छ ।