महिला हत्याको अभियोगमा युवा पक्राउ

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मी र बाग्लुङ्ग सिमानामा सोमबार दिउँसो बढिघाट खोलामा मृत अबस्थामा भेटिएकी गुल्मी अमराईकी गिता नेपालीको हत्याको आशंका गर्दै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ्ग जिल्ला बडीगाड गाउँपालिकाका २ सक्नेरका वर्ष २० का हिराबहादुर मगरलाई खर्वाङ प्रहरी चौकीले नियन्त्रणमा लिएर हरिचौर इलाका प्रहरी कार्यालय पठाएको श्रोतले बतायो ।

 

खर्वाङबाट प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या गरेको हुन सक्ने आशंकामा अभियुक्त मगरलाई निजको घरबाटै पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए । प्रहरी निजको घरमा पुगेपछी उनका बाबुले चार पाँच दिन देखी छोरालाई घरमा नदेखेको बताएपछी घरखानतलासी गर्न लाग्दा अभियुक्त मगर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको स्थानीयले बताए ।

 

घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजु सीता नेपाली राति ८ बजे सम्म साथै बसेर मदिरा वियर सेवन गरेको खुल्न आएको छ । पहिले भाउजू सीताले कुनै केटाको फोन आएपछी मृतक गितालाई त्यहिँ छोडी भोलि भेट भैहाल्छ नि भनेर एक्लै घरमा गएको बताएकी थिईन ।

 

अहिले तीनै जना साथै बसेर राति ८ बजेसम्म मदिरा सेवन गरेको भन्ने जानकारी बाहिर आएपछी घटना रहस्यमय बनेको स्थानीयको बुझाई छ । मृतक गीताको हत्या गरिएको भन्नेमा कसैमा शंका नरहेपनि हत्या गर्नु भित्रको रहस्य अझै बाहिर आएको छैन । हत्याकाण्डमा को कसको संलग्नता थियो के कारणले हत्या गरियो भन्ने प्रहरीले गम्भीररुपमा अनुसन्धान गरिरहेको बताइएको छ ।