पाटन विमानस्थल पुनःसञ्चालनका लागि काम धमाधम,१५ महिनाभित्र कालोपत्रे गरिसक्ने लक्ष्य


विनोद विष्ट,बैतडी ।
सुदूरपचिमकै दोस्रो ठुलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भैरहेको छ ।
वि.स २०५२ सालदेखि पूर्ण रुपमा बन्द अवस्थामा रहेको पाटन विमानस्थललाई पुनःसञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ ।

विमानस्थललाई १५ महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य सहित कटिङको काम शुरु गरिएको हो । गतसालको बजेट भाषणमा सरकारले पाटन विमानस्थल लाई सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोही अनुसार गत मंसिरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो ।

विमानस्थलको क्षेत्रफल र वरीपरिको पर्यावरणका हिसावले पाटन विमानस्थल उत्कृष्ट रहेको (डिपीआर) तयार पार्ने प्राविधिकहरुले बताएका थिए ।

सोही डिपीआर अनुसार विमानस्थललाई सुचारु गर्न ठेक्का आह्वान गरेर निर्माण कार्य शुरु गरिएको हो । करीब १० करोडको लागतमा विमानस्थललाई कालोपत्रे गरिने भएको छ ।

च्याङमिला गलुवा जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रे गर्ने काम भएको कम्पनीका स्थानीय प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो । ठेक्का अनुसार अहिले शुरुमा कटिङको काम भइरहेको र त्यसपछि फिलिङ हुँदै विमानस्थललाई कालोपत्रे गरिने उहाँले बताउनुभयो ।

प्रजातन्त्रको सुरुवात संगै संचालन रोकिएको विमानस्थल लोकतन्त्रको स्थापना पश्चात समेत संचालन रोकिदा बिमानस्थल गौचरन, खेलमैदान तथा सवारी साधन सिक्ने मैदानमा परिणत भएको थियो ।
तत्कालिन एमाओवादीको सरकार रहेको बेला उड्ययन मन्त्री लोकेन्द्र बिष्ट मगर ले सुदुरपश्चिमा रहेका बिमानस्थल लाई तत्काल सुचारु गर्ने प्रतिबद्धता गरेका थिए ।

पर्यटकीय गन्तब्य बनाउन सकिने
नेपाल सरकारले घोषणा गरेको दश नमुना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तब्य बनाउन सकिने भएको छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझांग जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ ।
पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुमेश्वर , उदयदेव मन्दिर , त्रिपुरा सुन्दरी , निङ्गलाशैनी मन्दिर , ईश्वरी गंगा धाम , मेलौली भगवती मन्दिर , दोगडा धाम , रौलाकेदार मन्दिर , सिगास धाम लगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

विमानस्थल लाई सञ्चालन पछीे बैतडी सहितका जिल्लाको धार्मीक पर्यटकिय क्षेत्रहरुको महत्त्व बढने तथा सुदूर पश्चिमका जनताको जिवनस्तरमा परिवर्तन आउने स्थानिय कपिल के सी को भनाई रहेको छ । विमानस्थल पुनः सञ्चालन पछी ओझेलमा परेका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नेछ उहाले भन्नुभयो “ व्यापार व्यवसाय पनि फस्टाउने र भारतसंग सिमा जोडिएकाले भारतिय पर्यटक समेत भित्र्याउन सकिन्छ ।”

बैतडीमात्रै नभएर दार्चुला,डडेल्धुरा र बझाङका लागि समेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सुचारु भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानिय छवि राज जोशीले बताउनुभयो ।

दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिक स्थलहरुको अवलोकन गर्ने पर्यटकहरुलाई भित्र्याउन समेत बैतडीमा रहेको विमानस्थल पाटन सुचारु गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

त्यसैगरी भारतसँग सिमा जोडिएको जिल्ला भएकोले व्यापारसमेत फस्टाउने देखिएको छ ।

स्थानिय बासिन्दा हर्षित
लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्न काम शुरु भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

गौचरण तथा खेलमैदानमा परिणत भएको सुदूरपचिमकै दोस्रो ठुलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालन हुने भएपछी स्थानिय बासिन्दा हर्षित भएका हुन ।

बिगत दुई दशक देखि बन्द विमानस्थल लाई सञ्चालनमा आउने भएपछी हर्षित भएको स्थानिय बासिन्दा बसन्त विष्टले बताउनुभयो । बैतडी सहित चार जिल्लाको धार्मीक पर्यटकिय क्षेत्रहरुको महत्त्व बढ्छ उहाँले भन्नुभयो “बैतडी लगायत सुदुर पश्चिमका जनताको जिवनस्तरमा परिवर्तन आउनेछ। ”

वि स २०३४ सालमा सञ्चालनमा आएको बैतडीको पाटन बिमानस्थल वि स २०५२ सालदेखि पूर्ण रुपमा वन्द अवस्थामा रहेको छ । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछीको सवैभन्दा ठुलो पाटन विमानस्थल हो ।

९ सय ५० मिटर धावनमार्गको लम्वाई रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठुलो विमानस्थलका रुपमा रहेको छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझांग जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित रहेको र पाटन विमानस्थल सञ्चालनमा आएपछी यस क्षेत्रको बिकास हुने समेत विष्टको भनाई रहेको छ ।

यस विमानस्थलका कार्यालयका भवनहरु तत्कालिन १२ बर्षे द्धन्दकालमा क्षतबिच्छेद भएका थिए ।