नेपालद्वारा बंगलादेश पराजित

0
Shares

 

कविरस शर्मा, काठमाडौं

२३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मैत्री खेलमा बंगलादेशको यू–२३ राष्ट्रिय टोलीलाई हराएको छ।

एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेको नेपाल १–० गोलअन्तरले विजयी भएको हो। उक्त खेलमा नेपाललाई जित दिलाउन कप्तान विमल घर्ती मगरले पहिलो हाफमा गरेको गोल नै खेलको निर्णायक सावित बन्यो।

नेपाली यू–२३ राष्ट्रिय टिमको कप्तानका रूपमा पहिलो म्याच खेलेका विमलले खेलको २०औं मिनेटमा उक्त निर्णायक गोल गरेका थिए। मैदानको दायाँ छेउबाट बंगाली डिफेन्डरलाई छक्याई अन्जन विष्टले मिलाइदिएको पासमा फनक्क घुम्दै विमलले दायाँ बारमा प्रहार गरेको बलले जाली चुमेको थियो।

तर गोल गरेको केही समयपछि नै विमलले मैदान छोड्नुपरेको थियो। कप्तानको भूमिकामा निकै उत्साहित विमल खेलको ३२औं मिनेटमा स्थापन्न भए। गोलका लागि प्रयास गर्ने क्रममा काँधमा पीडा भएपछि उनको स्थानमा विश्वास श्रेष्ठले मैदानमा प्रवेश पाएका थिए। यता गोल फर्काउन प्रयासरत बंगलादेशी टोलीले पहिलो हाफको अन्ततिर बल नियन्त्रणमा बलियो पकड बनाए पनि गोल भने फर्काउन सकेन। दोस्रो हाफको शुरुआतमा पनि नेपालले चुस्त खेल पस्कँदै केही मौकाहरु सिर्जना गरेको थियो। जसअनुसार खेलको ६४औं मिनेटमा अन्जनको उत्कृष्ट प्रहारले सही दिशा लिन सकेन। यता गोलका लागि सटिक प्रहारभन्दा पनि बल नियन्त्रणमा नै बढी जसो केन्द्रित देखिएको बंगलादेशी टोलीले ६९औं मिनेटमा बराबरी गोल गर्ने मौका चुकाएको थियो। बंगलादेशका लागि हेमन्तो विश्वासको कडा प्रहारलाई नेपाली गोलरक्षक एलन न्यौपानेले मुस्किलले विफल पारेका थिए।

दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले अग्रता दोब्बर पार्ने उत्कृष्ट मौकालाई खेर फालेको थियो। विवेक बस्नेतले गोलपोस्टको बायाँ अनमार्क उभिएको अवस्थामा विश्वास श्रेष्ठलाई बल उपलब्ध गराएका थिए। तर विश्वासले उक्त बललाई बायाँ खुट्टाले प्रहार गर्दै गोलपोस्टभन्दा टाढा पुर्याएपछि दोस्रो गोल सम्भव हुन सकेन।

खेलपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा बंगलादेशी प्रशिक्षक एन्ड्रयू ओर्डले नेपाली टोलीले खेल जिते पनि दुवै टोलीबीच खासै भिन्नता नरहेको बताए। ‘नेपालले पाएको मौकामा गोल गर्यो तर यस्तै मौकालाई हाम्रा फरवार्डहरुले सदुपयोग गर्न सकेनन्।’ –उनले भने।

नेपाल एएफसी यू–२३ को छनोट चरणमा समूह ‘डी’मा रहेको छ। यस समूहमा नेपाललगायत यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन्। छनोट चरणअन्तर्गत यही नेपाली टोलीले आफ्नो पहिलो खेल आगामी जुलाई १५ मा यूएईसँग उसैको मैदानमा खेल्नेछ। यता बंगलादेश भने एएफसी यू–२३ को छनोट चरणमा समूह ‘ई’मा रहेको छ। उक्त समूहमा बंगलादेशसँगै आयोजक प्यालेस्टाइन, जोर्डन र ताजिकिस्तान सम्मिलित छन्।