विश्व नम्बर एक बाहिरिइन्


 

लन्डन, (एजेन्सी)
विश्व नम्बर एक महिला खेलाडी एन्जेलिक केर्बर विम्बल्डन टेनिसमा चौथो चरणबाटै बिदा भएकी छन्।

स्पेनकी गार्बिन मुगुरुजाले जर्मनीकी केर्बरलाई ४–६, ६–४, ६–४ ले पराजित गरेकी थिइन्। कोर्ट टूमा भएको अन्तिम १६ को खेलमा केर्बरले करिब २ घण्टा २० मिनेट संघर्ष गरेर पनि हार टार्न सकिनन्। उनी गत संस्करणकी उपविजेता थिइन्। उता जितसँगै २३ वर्षिया मुगुरुजाले क्वार्टरफाइनलमा रुसकी सेटलाना कुज्नेटसोभासँग खेल्ने तय गरेकी छिन्।

केर्बरले कोर्ट टूको अवस्था नराम्रो भएको प्रतिक्रिया दिएकी थिइन्। उनले सन् २०१६ मा चारमध्ये दुई ग्रान्डस्लाम जितेकी थिइन्। यस वर्ष भने उनी क्वार्टरफाइनलसम्म पनि पुग्न सकेकी छ्रैनन्। यो हारले उनको विश्व नम्बर एक स्थान पनि डावाँडोल भएको छ।

यदि रोमानियाकी सिमोना हालेप सेमिफाइनल पुगेमा केर्बरले विश्व नम्बर एक स्थान गुमाउनेछिन्। तर हालेप अन्तिम चारमा नपुगेमा चेककी कारोलिन पिलिस्कोभा शीर्ष स्थानमा उक्लिनेछिन्। उनी भने जारी प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएकी थिइन्।