खानेपानी आयोजनालाई रकम अभाव

0
Shares

ज्ञानमणि नेपाल, काभ्रे ।
०७२ बैशाख १२ गतेको विनासकारी भूकम्प अघि सम्म गाउँमा जेनतेन खानेपानी पुगेकै थियो । तर भरपर्दो चाहीँ त्यति बेला पनि थिएन । भूकम्पपछिका दिनहरुमा गाउँमा खानेपानीको यति धेरै समस्या आयो कि गाउँलेहरु बिहान दुध बेच्न जान्थें र फर्कदा त्यहि भाँडोमा पानी किनेर ल्याउँथें ।

अहिले पनि गाउँलेहरु समस्यामै छन् । यहाँ यतिबेला प्रतिलिटर २ रुपयाँका दरले पानी किन्नु पर्ने अवस्था छ । पानी नभएकै कारण यहाँ पुर्ननिर्माण कार्यको शुरुवात पनि हुन सकेको छैन । केहि पीडितहरुले पानी किनेरै घर बनाउन थालेका छन् ।

यो समस्या हो काभ्रेको मण्डनदेउपुर नगरपालिका १० स्थित चण्डेनीमण्डनको । यहाँको माथिल्लो भेगका २५० परिवारका करिव १५ सय जनसंख्या यतिबेला खानेपानीको चरम समस्यामा रहेको छ । यति धेरै समस्या आएपछि स्थानियवासिहरुले अहिले गाउँमा खानेपानीको निकै नै ठूलो आयोजना निर्माण शुरु गरेका छन् । १ वर्ष अघि शुरु भएको यो कार्यको ५० प्रतिशत जति काम सकिएको छ ।

१ करोड ३० लाख अनुमानित लागतको यो आयोजनाका लागि अहिले करिव आधा रकम नपुग भएपछि झन समस्या भएको फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कुमार तामाङ्गले बताउनु भयो ।

उहाँका अनुशार आयोजनाका लागि अब ५० लाख रकम अभाव छ । यसका लागि स्थानियस्तरमा जनश्रमदान गर्ने र चन्दा उठाउने काम भइरहेको भएपनि त्यतिले मात्र यति ठूलो आयोजना सम्पन्न गर्न कठिन भएको पनि उहाँले जानकारी दिनुभयो ।
यो आयोजना सम्पन्न गर्न जिल्ला डिभिजन कार्यालयमा डिभिजन प्रमुख र विभिन्न सहयोगी संस्थाहरुको संयुक्त बैठक बसि गतवर्ष अनुमानित लागत र लाभग्राहि जनसंख्याको आँकडा निकालेपछि काम शुरु भएको थियो । जसका लागि सो कार्यालयले ७ लाख ४० हजार सहयोग गर्ने बचन दियो ।

त्यस्तै शान्ति जनआदर्श सेवा केन्द्र, धुलिखेल र फन्ड बोर्डबाट रु १५ लाख तथा तत्कालिन जिविस काभ्रेबाट हरित पुर्नलाभ कार्यक्रम अन्र्तगत रु १४ लाख सहयोगको प्रतिबद्धता आयो । त्यस्तै अर्को सामाजिक संस्था कारितास नेपालबाट रु १५ लाख, गाउँ सामुदायिक समिती चण्डेनीमण्डनबाट रु ४ लाख सहयोग गरिने सम्झौता पनि भयो ।

तत्कालिन चण्डेनीमण्डन गाविसलाई ५ लाख सहयोगका लागि अनुरोध गरिने पनि त्यतिबेला नै निर्णय गरिएको थियो । निर्णय अनुशार गाविसले सहयोग पनि गरिसकेको छ । आयोजनाबाट सो क्षेत्रका २५० परिवारका १५ सय जनसंख्यालाई सेवा पुग्ने र एक घर एकधारा निर्माणको लक्ष्य लिइने बताइएको थियो ।

यो योजना सम्पन्न भएपछी सबै उपभोक्ताहरुको आय आर्जन बृद्धि भई आयस्तर बढ्ने र योजना जिल्लाकै नमुना बनाउने लक्ष्यका साथ शुरु गरिएको खानेपानी आयोजनाको काम यतिबेला चलिरहेको छ । तर सोचे भन्दा धेरै लगानी लाग्ने र त्यतिबेला बचन दिएका संस्थाहरुले सहयोग गरेपनि रकम नपुग भएपछि उपभोक्ता समितीलाई काम गर्न समस्या भएको बताइएको छ ।

योजना सम्पन्न गर्नका लागि गाउँ भन्दा २ किमी तल रहेको पानीको मुहानबाट विजुली र पम्पसेटको मद्दतले माथि तानेर ३ ठाउँमा अलग अलग ट्याङ्की निर्माण गरिनेछ । ज्यामिरे, तीनधारा, धारापानी, सुलिकोट र चण्डेनीथुम्कामा पानी वितरण गरिनेछ । अहिले मुहानसम्म ट्रान्समिटर जडान गर्न र विजुली तार लैजान स्थानियवासिहरु विजुलीको पोल बोकेर लैजान बाध्य छन् ।

१५ वटा विजुली पोल र ५० केभिए को ट्रान्समिटर राखेपछि मात्र खानेपानी आयोजना संचालन गर्न सम्भव भएकाले स्थानियवासिहरु पहिले यसतर्फ अग्रसर छन् । ट्यांकी निर्माण कार्य पनि भइरहेको छ । वडा र नगरकै सबैभन्दा ठूलो र नमुना हुने यस खानेपानी योजनाका लागि १० नम्बर वडाले कुनै पनि सहयोग बाँकी नराख्ने वडाअध्यक्ष विष्णुमणि नेपालले बताउनुभयो ।

यसका लागि नगरपालिकामा पनि सहयोगको लागि अनुरोध गरिने पनि उहाँ बताउनु हुन्छ । गतवर्ष योजना शुरु गर्दा आगामी दशैं सम्ममा खानेपानी संचालन गरिने बताइएपनि अहिले तोकिएको समयमै काम हुन सकिनेमा भने स्थानियवासिहरु शंका गर्छन् । तर पनि उनीहरुले आशा मारेका छैनन् । कुनै भरपर्दो संस्थाले सहयोग गरेमा आयोजना समयमै सकिने उनीहरुले बताए ।