ललितकलामाथि गीत

0
Shares

पत्रकार मधु शाहीको शब्द र ज्योतिप्रकाश बीकेको संगीतमा ललितकलासम्बन्धी उठौं कलाकार बोलको गीतमाथि निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएको भिडियोलाई म्युजिक नेपालले बजार व्यवस्थापन गरेको छ।

राजधानीमा आयोजित एक समारोहबीच ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, गीतकार एवं फिल्मकर्मी यादव खरेल, कला समीक्षक रमेश खनाललगायतले म्युजिक भिडियो र अडियो एकैसाथ सार्वजनिक गरेका हुन्।

पत्रकारिताका क्रममा ललितकलाको विषयमा गरेको अनुभव र बुझाईलाई गीतमा उतारेको मधुले बताइन्। त्यस्तै संगीतकार एवं चित्रकार ज्योतिले कलाको क्षेत्रमा अहिलेसम्म कुनै गीत सिर्जना नभएको चर्चा गर्दै यसको महत्व खड्किएको बताए। ‘कला क्षेत्रको गीत थिएन, यस गीतले ऐतिहासिक काम गरेजस्तो लाग्छ’ –उनले भने। त्यसै गरी कुलपति उपाध्यायले कलासम्बन्धी यस गीतले सबै कलाकारलाई हौसला मिल्नुका साथै सकरात्मक ऊर्जा दिने बताइन्।

गीतकार यादव खरेलले सबै पाका र नयाँ पुस्ताका कलाकारलाई एकैसाथ म्युजिक भिडियोमा समावेश गर्न सक्नु महत्वपूर्ण दस्तावेज भएको बताए। ३ मिनेट लामो म्युजिक भिडियोमा पाका कलाकार शशि शाह, दुर्गा बराल, रागिनी उपाध्यायलगायत पोखराका कलाकारहरुलाई समेत समेटिएको छ। गीतमा ज्योतिसँगै रूपक खनाल, शीतल पाण्डे र सीता भण्डारीले स्वर दिएका छन्।