जी २० सम्मेलन: आश्चर्यजनक सफल भएको ट्रम्पको दाबी


जलवायु सम्झौतामा अमेरिका एक्लिए

वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी २० सिखर सम्मेलन ‘आश्चर्यजनक सफल ’ भएको बताए। जलवायु सम्झौताको मुद्दामा सिखर सम्मेलनमा अमेरिका एक्लिएको बाबजुद ट्रम्पले उक्त दाबी गरेका हुन्।

पेरिस जलवायु सम्झौताबाट अमेरिका पछाडि हटेको छ र यसको असर जी २० मा प्रष्ट देखियो। यद्यपि जी २० का अन्य देशले पेरिस सम्झौतामा रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। ह्याम्बर्गमा जलवायु सम्झौतामाथि अमेरिकी नीतिलाई लिएर गतिरोध उत्पन्न भएको थियो।

अन्त्यमा जी २०का सदस्य सम्झौतामा पुग्न सफल रह्यो र शनिबार आधिकारिक रूपमा साझा बयान जारी गर्यो। विज्ञप्तीमा अमेरिकाले अन्य देशको इन्धनका लागि स्वच्छ स्रोतको प्रयोगका लागि मद्दत गर्नेछ। बढ्दो विश्वब्यापी तापक्रम वृद्धी रोक्नका लागि पेरिस सम्झौतामा ग्रिन हाउस ग्यासको उत्सर्जन सीमित गर्ने लक्ष्य निर्धारित गरेको छ। संयुक्त विज्ञप्तीमा भनिएको छ– ‘हामी अमेरिकाको पेरिस सम्झौताबाट बाहिरीने फैसलालाई स्वीकार गर्छौं।

यद्यपि जी २० शिखर सम्मेलनमा सहभागी नेताहरू यो सम्झौतालाई बदल्न नसकिनेमा सहमत भएका छन्।

ह्याम्बर्गमा जी २० सिखर सम्मेलनको आयोजक रहकी जर्मन चान्सलर एन्जेला मर्केलले जलवायु परिवर्तनको मुद्दामा ट्रम्पको फैसलालाई अहिले पनि निन्दा गर्ने बताइन तर आफू अन्य १९ देश यसमा पुनः वार्ता शुरू गर्ने विषयमा विपक्षमा रहेकोमा खुसी लागेको बताइन्।

टर्कीका राष्ट्रपतिले तयैप एर्डोगानले उनको देश पेरिस सम्झौताको पक्षमा हुन्छ भन्नेमा आशंका रहेको बताए। पेरिस सम्झौताबाट अमेरिका पछाडि हटेको विषयलाई लिएर उनले यसबाट विकासशील देशले पाउने मुआब्जामा ग्रहण लागेको बताए।

राष्ट्रपति एर्डोगानले पेरिस सम्झौतामा आफूले हस्ताक्षर गर्दा त्यतिबेला फ्रान्सले टर्कीले मुआब्जा पाउने प्रतिबद्धता ब्यक्त गरेको बताए। उनले भने– यदि हामीलाई मुआब्जा प्राप्त हुन्छ भने पेरिस जलवायु सम्झौतालाई संसदबाट पास गराइनेछ, होइन भने पास गर्न कठिन हुनेछ। अहिलेसम्म यस सम्झौता अनुमोदन भएको छैन।

ह्याम्बर्ग वार्ताको अन्तिम दिन यस मुद्दामा अमेरिका बाहिरिने ट्रम्पको फैसलालाई स्विकृति दिँदै अन्य देशले आफ्नो प्रतिबद्धतामा कुनै कमी नहुने सहमति गरे।

ब्यापार मुद्दामा सफलता

ट्रम्पलाई ब्यापारको मुद्दामा एउटा सफलता हासिल भएको छ। यसमा त्यहाँ उपस्थित देशका नेताहरूले उनलाई बजार संरक्षित राख्न पूरा अधिकार भएकोमा प्रष्ट पारिदिएका छन्।

जर्मनीमा शिखर सम्मेलन समाप्त भएपछि ट्रम्पले जी २० सम्मेलन आश्चर्यजनक रूपमा सफल रहेको र चान्सलर एन्जेला मर्केलले यसलाई राम्रो तरिकाले नतिजामा पुर्याएको बताए।

ट्रम्पले उत्तर कोरियाको मुद्दामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गरे। अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिलाई उत्तर कोरियामाथि केही कारवाही हुनुपर्ने बताएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त गर्ने पक्षमा रहेको बताए।

ह्याम्बर्गमा नेताहरूले अगग्ग अलग्गै द्विपक्षीय वार्ता गरेका थिए। राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गरे। उनले अमेरिका र बेलायत ब्यापार सम्झौतामा चाँडै हस्ताक्षर हुने बताए ।

जी २० सिखर सम्मेलनमा विश्वका १९ विकसित तथा विकासशील देश र युरोपेली संघ पनि सहभागी छन्।

ह्याम्बर्ग सम्मेलन अवधिभर त्यहाँको सडकमा ब्यापक विरोध प्रदर्शनहरू भए। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच झडपहरू भएका थिए। सम्मेलनमा राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागिताको विरोध गरिरहेका प्रदर्शनकारीहरूले सवारी साधन तथा प्रहरीको अवरोधकहरूमा आगजनी गरेका थिए।

प्रदर्शनकारी जलवायु परिवर्तन र आय असमानता विरुद्ध पनि प्रदर्शन गरिरहेका थिए। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पसलहरूमा लुटपाट पनि गरेका थिए।