रुनी एभर्टन फर्किए


लन्डन, (एजेन्सी)
इंग्लिस फुटबलका कीर्तिमानी गोलकर्ता वायने रुनी आफ्नो पुरानो क्लब इभर्टन फर्किने पक्का भएका छन्।

म्यानचेस्टर युनाइटेडमा स्वर्णिम करियर कोरेका उनी १३ वर्षपछि पुनः एभर्टन फर्कन लागेका हुन्। ३१ वर्षीय रुनीले आफ्नो व्यावसायिक फुटबल करियरको पहिलो क्लबसँग २ वर्षका लागि सम्झौता गरेका छन्। यसअघि उनी १६ वर्षको हुँदा एभर्टनबाट पहिलो म्याच खेलेका थिए।

लामो समयपछि युनाइटेड फर्केका रुनीले इभर्टन फर्किन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले भने– ‘प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड अथवा एभर्टन मात्र मेरो रोजाइमा परेको टोली हो। पहिले इभर्टनबाट युनाइटेड गएको थिए। अब फेरि युनाइटेडबाट एभर्टन फर्केको छु। युनाइटेडमा मेरो करियरले जुन उचाइ पायो त्यो सम्झिँदा मलाई खुसी तथा गर्व लागेको छ।’

यता युनाइटेडले रुनीको स्थान्तरण लागि तोकिएको शुल्क र १३ मिलियन पाउन्ड ज्यालासमेत मिनाह गर्न सक्ने जनाएको छ। रुनी पुरानो क्लब फर्किंदा इभर्टनका स्ट्राइकर रोमेलु लुकाकुलाई भने युनाइटेडले ७५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने प्रक्रिया अघि बढाएका छन्। यता एभर्टनका प्रशिक्षक कोएम्यानले पनि रुनी फर्कन लागेकोमा खुसी व्यक्त गरेका छन्। उनले भने– ‘रुनी भर्खर ३१ वर्षका भएकाले उनले यहाँ राम्रो गर्नेमा आशा गर्न सकिन्छ।’

सन् २००४ देखि २०१७ सम्म म्यानचेस्टर युनाइटेडमा रहँदा उनले क्लबका तर्फबाट ५ सय ५९ म्याचमा २ सय ५३ गोल गरेका छन्। युनाइटेड पाँचपटक इंग्लिस प्रिमियर लिग च्याम्पियन बन्दा उनी टिमका महत्वपूर्ण सदस्य बनेका थिए। युनाइटड आउन अघि इभर्टनबाट ६७ म्याच खेल्दा उनले १५ गोलको योगदान गरेका थिए।