जुनियरको दबदबा कायमै


नेपाल समाचारपत्र,काठमाडौं
योनेक्स सनराइज छैटौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा जुनियर खेलाडीहरूको दबदबा कायमै रहेको छ।

प्रतियोगिताको दोस्रो दिन पनि विनावरीयताका जुनियर खेलाडी प्रफुल महर्जनले सातौ वरीयताका सञ्जीव खड्कालाई पराजित गर्दै आफ्नो खेल कौशलता प्रदर्शन गरेका छन्। यसै जुलाई महिनामा इन्डोनेसियामा हुने एसियन जुनियर च्याम्पियनसिपको तयारीमा रहेका नेपाली सेनाका खेलाडी महर्जनले पुरुष एकलको प्रतिस्पर्धामा कैलालीका खड्कालाई २१–१५ र २१–१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।

प्रतियोगिताको पहिलो दिन पनि विनावरीयताका सेनाका पविन लिन्थेपले छैटौं वरीयताका पुलिसका खेलाडी दीपक बोहरालाई स्तब्ध पारेका थिए। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगितमा महर्जनले ब्वाइज १७ तर्फको खेलमा पनि जित हात पारे। उनले जेष्ठ ब्याडमिन्टनका बरुण क्षत्रीलाई २१–९, २१–८ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्य खेलमा पूर्वविजेता नेपाली सेनाका रत्नजित तामाङले अविजित यात्रालाई कायमै राखेका छन्। उनले दोस्रो दिनको खेलमा नेपालगन्ज ब्याडमिन्टन क्लबका सरोज अन्सारीलाई २१–१०, २१–७ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे। यस्तै अन्तिम आठमा स्थान बनाउन सफल अर्का खेलाडीमा परफेक्ट फिटनेसका जीवन आचार्य रहेका छन्। आचार्यले सेनाका पविन लिनथेपलाई तथा पराजित गरे।

यस्तै पुलिसका विष्णु कटुवालले सेनाका रुकेश महर्जनलाई, एपीएफका सुदीप सेढाईंले एपीएफकै विजित थापा मगरलाई, सेनाका नवीन श्रेष्ठले नेपालगन्जका इरफान अन्सारीलाई, एपीएफका साजनकृष्ण ताम्राकारले परफेक्टका नीरविक्रम देवकोटालाई र पुलिसका दीपेश धामीले सेनाका दिलेन्द्र पुनलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे।

महिला एकलतर्फ बाँकेकी सम्झना शर्मा र सेनाकी रसिला महर्जन अन्तिम आठमा प्रवेश गरेका छन्। सम्झनाले जेष्ठ ब्याडमिन्टनकी सीता राईलाई तथा रसिलाले जेष्ठकै जेशिका गुरुङलाई पराजित गरिन्।