पत्रकार शाक्यद्वारा आत्महत्या

0
Shares

पत्रकार तथा फिल्म निर्माता एवं लेखक सविन शाक्यले आत्महत्या गरेका छन्। शाक्यले पारिवारिक तनावका कारण शुक्रबार राजधानीको गौरीघाटस्थित डेरामा झुण्डिएर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।

शाक्य लामो समयसम्म पत्रकारितामा सक्रिय थिए भने पछिल्लो समयमा लेखन र फिल्म निर्माणमा संलग्न भएका थिए। २०२५ सालमा काठमाडौंमा जन्मिएका ४९ वर्षीय शाक्यले ब्ल्याक डायरी नामक फिल्मको लेखन कार्य गरेका थिए भने केही निर्मातासँग मिलेर त्यसको निर्माण पनि गरेका थिए।

चित्रकार रागिनी उपाध्यायको जीवनी लेखिरहेका उनले त्यसअघि केही पुस्तक पनि लेखेका थिए। उनको केही वर्षअघि दोस्रो विवाह भएको थियो। जेठी पत्नीका तर्फबाट एक छोरा र छोरी तथा कान्छी पत्नीबाट एक छोरीको पिता भएका उनी गौरीघाटमा आमा, कान्छी श्रीमती, छोरा र छोरीका साथ बस्दै आएका थिए।

 

शुक्रबार अपराह्न ४ बजेतिर आत्महत्या गरेका सविनको कोठाबाट प्रहरीले ३ पाना लामो सुसाइड नोट लेखेका थिए। त्यसमा उनले परिवारको खुसीका लागि केही गर्न नसकेको उल्लेख गरेको बताइएको छ। लामो समयसम्म ढोका नखोलेपछि उनको आमाले छोराले आत्महत्या गरेको पत्ता लगाएकी थिइन्। सविनको शवको शनिबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनको आत्महत्याप्रति कलाकर्मी र सञ्चारकर्मीहरुले गहिरो दुःख व्यक्त गरेका छन्। उनको आत्महत्याको खबर पाएपछि कलाकर्मी र सञ्चारकर्मीहरु अस्पतालदेखि आर्यभघाटसम्म पुगेका थिए।