नेपालमा ८३ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन क्षमता छ : कुलमान घिसिङ


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युतमा ८३ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपालका कर्णाली, गण्डक र कोशी ठुला जलाशयहरुको निर्माणबाट १ लाख मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने बताउनुभएको हो ।

सिंहदरवार र शितल निवासमा ब्याट्री स्टोरेज
सोही कार्यक्रममा घिसिङले सिंहदरवार र शितल निवासमा प्रशारणलाईनमा अवरोध हुँदा पनि विद्युत् आपूर्तिमा अवरोध नहोस भन्ने उद्येश्यले ब्याट्री स्टोरेज राख्न लागिएको बताउनुभयो । ५ करोड रुपियाँ प्रतिमेगावाट लागत अनुमान गरिएको स्टोरेजका लागि एसियाली विकास बैंकले आर्थिक सहायता गर्ने घिसिङले बताउनुभयो ।

दोलालघाटसम्म पानी जहाज ल्याउन सम्भव
जापानी सहयोग नियोग (जाईका) ले सन् १९८५ मा गरेको जलविद्युत्को सम्भाव्यता सम्बन्धि अध्ययनले कोशी बेसिनका नदीहरुलाई समेटेर जलाशय निर्माण गरि काभ्रेको दोलालघाटसम्म पानी जहाज ल्याउन सम्भव रहेको बताउनुभएको छ । उक्त जलाशयबाट २५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने तथा कलकत्ता बन्दरगाहबाट ११ सय २७ किलोमिटर दुरीमा दोलालघाटसम्म पानी जहाज आउनसक्ने घिसिङले बताउनुभयो ।