कोकाकोला कप साउनमा


 

हेटौंडा, (नेस)
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा साउन ३ गतेदेखि हेटौंडामा कोकाकोला कप अन्तरविद्यालय जिल्ला फुटबल प्रतियोगिता हुने भएको छ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर जिल्ला फुटबल संघले यस्तो जनाएको छ। प्रतियोगिता संयोजक मकवानपुर जिल्ला फुटबल संघ सदस्य युवराज लामाले भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन हुने आधार रहेको प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद, प्रमाणपत्र, शिल्ड तथा मेडल प्रदान गरिने बताए।

जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यालयस्तरीय प्रतियोगिताबाट दोस्रो चरणका लागि खेलाडी छनोट हुने बताए। हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगितामा १२ वटाभन्दा बढी टिम सहभागी हुने उनले जनाए। खेलमा १४ देखि १६ वर्षसम्मका विद्यार्थी खेलाडीले सहभागी हुन पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको यसअघिको संस्करणमा भीमफेदीको महेन्द्र मावि विजयी भएको थियो।

राष्टिय खेलकुद परिषद (राखेप) ले नेपाल भारोतोलन संघका प्रमुख प्रशिक्षक सुनीललाल जोशीको स्वर्गारोहण भएको १३औं पुण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा ओलम्पियन एवं राखेप कोषाध्यक्ष सुरेन्द्र हमाल (दायाँ) तथा अन्य खेलकर्मीहरू सहभागी हुँदै ।

स्व. जोशीको १३औं दिनमा नेपाल भारोत्तोलन संघ र रुक्मशमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले पनि छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए ।