कोहलीको रेकर्ड


नयाँ दिल्ली, (एजेन्सी)
जमैकाको सविना पार्कमा भारतीय कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड शुक्रबार तोडेका छन्।

कोहलीले पाँचौं वानडेमा शतक प्रहार गरेर वेस्ट इन्डिजविरुद्धको सिरिज ३–१ ले दिलाउँदा रेकर्ड बनेको हो। वेस्ट इन्डिजले २ सय ६ रनको लक्ष्य दिएकोमा कोहलीको शतकसँगै भारतले जित हात पारेको थियो। पाँच रन हुँदा शिखर धवन पवेलियन फर्केपछि कोहलीले सानदार ब्याटिङ गरेका थिए।

कोहलीले १ सय १५ बलमा १२ चौका र २ छक्काको सहयोगमा १ सय ११ रनको नटआउट इनिङ खेलेका थिए। यो उनको करिअरको २८औं वानडे शतक थियो। वानडेमा सर्वाधिक शतक प्रहार गर्नेमा कोहली सनथ जयसुर्यासँग संयुक्तरूपमा तेस्रो नम्बरमा छन्। पहिलो नम्बरमा तेन्दुलकर ४९ शतकसहित रहे भने दोस्रो नम्बरका रिकी पोन्टिङले ३१ शतक प्रहार गरेका छन्।
कोहलीले लक्ष्य पछ्याउनेमा १८औं शतक प्रहार गरेर तेन्दुलकरको १७ शतकको रेकर्ड तोडेका छन्। उनले १ सय ८१ खेलबाटै तेन्दुलकरको नाममा रहेको रेकर्ड आफ्नो नाममा राखेका हुन्। उनको लय यस्तै रहेमा पोन्टिङको शतक संख्या पनि पछाडि पर्ने पक्का छ।

तर लक्ष्य पछ्याउने क्रममा सर्वाधिक रन बनाउने मामिलामा तेन्दुलकर अहिले पनि नम्बर एकमा छन्। वानडेको दोस्रो इनिङमा भारतीय लिजेन्डले २ सय ३२ खेलबाट ८ हजार ७ सय २० रन बनाएका छन्। कोहलीले अहिलेसम्म १ सय २ इनिङबाट ५ हजार १ सय ६९ रन जोडेर सातौं स्थानमा डटेका छन्। जबकि सनथ जयसुर्या २ सय १० इनिङ खेल्दै ५ हजार ७ सय ४२ रन बनाउँदै दोस्रो स्थानमा छन्। कोहली श्रीलंकन भेटेरानलाई पछि पार्न पनि धेरै टाढा छैनन्।