राजधानीमा फैलियो झाडापखाला


ललितपुरमा हैजा पनि

भगवती तिमल्सिना, काठमाडौं
वर्षायामसँगै शुरू हुने झाडापखालाका बिरामी काठमाडौंमा बढेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन्।

दुई सातादेखि काठमाडौंलगायत वर्षात् शुरू भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँ मासीका बिरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी गराउनुभयो। डा. पुनका अनुसार विगत वर्षमा झैं काठमाडौंमा हालसम्म हैजाका बिरामीभन्दा सिबेला ब्याक्टेरियाका कारण हुने आउँका बिरामी ह्वात्तै बढेका छन्।

उता ललितपुरमा भने सिबेलासँगै हैजाका ब्याक्टेरिया पनि फेला परेकाले काठमाडांैमा नहोला भन्न नसकिने विज्ञहरूको भनाइ रहेको छ। यति बेलासम्म परीक्षणमा देखा नपरे पनि सम्भावना बढी रहेको बताइएको छ।

टेकु अस्पतालमा अहिले कालीमाटी तथा कुलेश्वर क्षेत्रका बिरामी दैनिक १५ जनाको हाराहारीमा आकस्मिक रूपमा आउने र ओपीडीमा भर्ना हुने गरेको डा. पुनले जानकारी दिनुभयो।


कारण
१. पानीमा इकोलाई साल्मोनाई, सिवेलाजस्ता जीवाणु वर्षात्का कारण मिसिने र पानी नउमाली सिधै पिउनाले वा बासी अथवा ढुसी लागेका खानेकुरा खाने गर्नाले आउँ तथा झाडापखाला।

२. खुला रूपमा बिक्रीवितरण गरिने काँक्रा, पानीपुरी, चटपटे, मेवा, मकैजस्ता खानेकुराको प्रयोग।


विशेष गरी पानीमा इकोलाई साल्मोनाई, सिबेलाजस्ता जीवाणु वर्षात्का कारण मिसिने र पानी नउमाली सिधै पिउनाले वा बासी अथवा ढुसी लागेका खानेकुरा खाने गर्नाले आउँ, झाडापखालाजस्ता समस्या हुने गर्दछन्।

यति मात्र नभई यो गर्मी याममा खुला रूपमा बिक्रीवितरण गरिने काँक्रा, पानीपुरी, चटपटे, मेवा, मकैजस्ता खाद्यान्नले पनि रोग निम्त्याउन भूमिका खेलेको विज्ञहरूको भनाइ रहेको छ। यस्ता खानेकुरा बिक्री गर्ने व्यक्तिहरूले पनि उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी सफा र ताजा खानेकुरा बेच्ने र खानेले पनि तत्काल मुखबाट र्याल चुहिनासाथ आफ्नो स्वास्थ्यको ध्यान नदिनाले वर्षेनी वर्षा याममा यस्ता प्रकोप बढ्ने गरेको सम्बद्ध विज्ञको भनाइ रहेको छ।

‘उपभोक्ताको हकहितका लागि खाद्य सुरक्षा, अनुगमन, मूल्यांकन गरी आवश्यकताअनुसार सुरक्षा अपनाउने र उत्कृष्ट मापदण्डको पालना गर्नेलाई पुरस्कार र स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेलाई दण्ड सजायको व्यवस्था हुनुपर्छ’ –डा. पुनको भनाइ रहेको छ। झाडापखाला भएमा दिनभरि दिसा लाग्ने, दिसाबाट पातलो पानीजस्तो तरल पदार्थ बग्ने गर्दछ। यसले बिरामीलाई साह्रै कमजोर बनाउँदछ। विशेष गरी दिनमा ३ देखि ४ पटकभन्दा बढी पातलो दिसा लाग्यो भने यो पखाला वा रातो आउँ वा रातो मासी परेको बुझ्न सकिन्छ।

झाडापखालाको समयमा पखाला लाग्नुभन्दा पहिला विस्तारै पेट दुख्ने, कहिले थोरै गाढा त कहिले पातलो पानीजस्तो दिसा आउने, पखाला लाग्दा चौलानी जस्तो सेतो आउँ आउने, कहिलेकाहीं पखाला लाग्दा रातो आउ वा रातो र सेतो मासी पनि आउने, दिसा बसिसकेपछि पनि फेरि बसुँ बसुँ जस्तो लाग्ने, मुख सुख्खा देखिने, पानी प्यास धेरै लाग्ने, शरीर पूरै गलेर हिँड्न गाह्रो भई जहाँ पायो त्यहीं बसौंजस्तो हुने लक्षणहरू देख्न सकिन्छ।

बसपार्क, अस्पताल तथा मानिसको धेरै जमघट हुने स्थानमा काटेर खुला राखेको फलफूलहरू, झिँगा बसेको, धूलोमैलो परेको खानेकुराले झाडापखालाका साथै हैजा आउँ निम्त्याउँछ। विशेष गरी काठमाडौंमा यति बेला देखा परेको फोहोर मैला, धूलो, धूवाँलगायतका समस्या बढेको र खाना खुला राख्ने, सडक किनारामा राखिएका पसलहरूमा खुला पानी, बासी खानेकुरा, पानी आदि राख्नाले र ती खानेकुरा खाँदा समेत समस्या परेको विज्ञहरूको भनाइ रहेको छ।

पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने, जीवनजल पानी वा नुन चिनी पानी प्रशस्त पिउने, पेट दुखेको अवस्थामा तातो कपडाले छोपेर राख्ने, खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने, हातको नङहरू समय समयमा काटी रहने, दिसा–पिसाबलाई रोकेर नराख्ने, कहिलेकाहीं चिसोको कारणले गर्दा पनि झाडापखाला तथा आउँ पर्ने हुनाले यसबाट बच्ने तथा बासी र सडेगलेका खाने कुराहरू नखाने हो भने रोकथाम हुने विज्ञहरू बताउँछन्।

तरकारीहरू पखालेर वा काँचो सलाद तरकारीलाई तातो पानीले धोएर खाएमा राम्रो हुने सुझाव दिँदै विज्ञहरू भन्छन्– ‘अत्यधिक चिल्लो, पिरो, अमिलो, भुटेको खानेकुरा, राम्रोसँग नपाकेको माछा र मासुको परिकार खाँदा पनि गर्मीयाममा ध्यान दिनुपर्छ।’

उल्लिखित उपायहरू अपनाएको खण्डमा झाडापखाला लाग्ने सम्भावनाबाट बच्न सकिने डा. पुन बताउनुहुन्छ। यति बेला बालबालिकाहरू टाइफाइड र झाडापखालाका बढी शिकार हुने गरेका कारण अभिभावक तथा विद्यालय समयमा शिक्षकहरू अझ बढी सजग हुनुपर्ने समेत उहाँको सुझाव रहेको छ।