काठमाडौँ, २२ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँ आज चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा ‘रेशम मार्गमा सहयोग र विकास’बारे संभाषण दिँदै हुनुहुन्थ्यो ।
नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा सहभागी राष्ट्रहरुबीच लगानी अभिवृद्धि, प्रविधि हस्तान्तरण, दीर्घकालीन सहयोग आदानप्रदानबाट आर्थिक रुपान्तरणका लागि प्राकृतिक स्रोतको उपयोग गर्ने एक अवसरका रुपमा बिआरआईलाई लिइएको उहाँले स्पष्ट पार्नुभयो ।
बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान पनि उहाँले आह्वान गर्नुभयो ।
उपराष्ट्रपति पुनले सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा गरेकामा चिनियाँ सरकारलाई धन्यवाद दिनुभयो । यो अभियानलाई सफल बनाउन चिनियाँ जनतालाई नेपाल भ्रमणमा जान उत्प्रेरणा दिन पनि उहाँले चिनियाँ सरकारसँग आग्रह गर्नुभयो ।
सबै साझेदारहरुको एकीकृत प्रयासबाट बिआरआईका सम्भाव्यताहरुलाई मूर्त रुप दिन नेपाल प्रतिबद्ध रहेको विश्वास पनि उहाँले दिलाउनुभयो ।
आज बिहान गान्सु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपराष्ट्रपति पुनले गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङसँगै नेपाल कक्षको उद्घाटन गर्नुभएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उक्त व्यापार मेलामा १३ नेपाली व्यापारिक कम्पनीले १६ वटा बिक्री कक्ष सञ्चालन गरेका छन् । मेलामा ३६ राष्ट्र र दुई अन्तरसरकारी सङ्गठनले भाग लिइरहेका छन् । रासस
प्रतिक्रिया