मेसी बार्सिलोनामै रहने


 

लन्डन, (एजेन्सी)
बार्सिलोना स्ट्राइकर लियोनल मेसीले सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकार गरेपछि ला लिगा क्लबमा आगामी सन् २०२१ जुन ३० सम्म आबद्ध हुने भएका छन्। यसअघि १३ वर्षमा बार्सिलोनामा भित्रिएका ३० वर्षीय खेलाडीले सम्झौतामा नवीकरण गर्न ढिलाइ गरिरहेका थिए। उनको स्विकार्यपछि ला लिगा क्लबले आफ्नो वेबसाइटमा बतायो– ‘इतिहासकै महान् खेलाडी मेसीको प्रतिबद्धता र नवीकरणसँगै क्लब धेरै खुसी भएको छ।’

अर्जेन्टिनी फरवार्डले क्लबमा ५ सय ८३ खेलबाट ५ सय ७ गोलको रेकर्ड बनाएका छन्। मेसी गत शुक्रबार बाल्यकालकी प्रेमिका एन्टोनेला रोकुजोसँग बिहे गरेर क्यारिबियनमा हनिमुन मनाइरहेका छन्। स्पेनी मिडियाका अनुसार उनको नयाँ सम्झौता ३० करोड युरोमा भएको छ। उनले सातामा ५ लाख पाउन्ड पाउनेछन्। गएको मेमा मेसीले शुरूआती रकमप्रति अस्वीकार गरेका थिए।

मेसीको पछिल्लो सम्झौता अर्को वर्षको जुनमा समाप्त हुँदै छ। साथै म्यानचेस्टर सिटी र पेरिस सेन्ट जेर्मेनको मेसी भित्त्याउने सपना पनि तुहिएको छ। ती क्लबहरूले मेसीलाई आ–आफ्ना क्लबमा आबद्ध गराउन कसरत गरिरहेका थिए।