गुट उपगुटले कांग्रेस अप्ठ्यारोमा देउवा सधैं आलोचित


 

रामकृष्ण चापागाईं
काठमाडौं
आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै तथा आवश्यक सल्लाहाकारहरू नियुक्त गरेर प्राथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन्।

साथै, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर कांग्रेसभित्रै पनि आलोचित बन्दै गएका छन्।
राष्ट्रिय राजनीतिमा संविधान कार्यान्वयनका लागि सात महिनाभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा सरकारको नेतृत्व सम्हालेका सभापति देउवाले सरकार सञ्चालन पनि पार्टी सञ्चालनमा जस्तै बेवास्ता गरेको आरोप लागिरहेको छ। प्रधानमन्त्री देउवा निकट कांग्रेसका एक नेताले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘हाम्रा सभापतिसमेत रहनुभएका देउवाले यो चुनौतीपूर्ण अवस्थामा गरेको कामको वाहवाही पाउनुपर्ने बेलामा झन् आलोचित बन्दै जानुभएको छ।’

‘सरकार सञ्चालनका लागि प्रधानमन्त्रीको चुस्तदुरुस्त सचिवालय छैन, सल्लाहकार नियुक्त गरिएको छैन’, ती नेताले भने– ‘प्रधानमन्त्री अहिले बिहे, भोज, नातेदार चिनजानका साथीभाइ भेटघाटजस्ता सामान्य र व्यक्तिगत काममा व्यस्त देखिनुभएको छ।’

प्रधानमन्त्री सचिवालयका अनुसार हिजो बुधबार पनि प्रधानमन्त्री देउवा तीनवटा विवाहको कार्यक्रममा सहभागी हुने बताइएको थियो। आज बिहीबार पनि प्रधानमन्त्री देउवा पुस्तक विमोचनलगायतका कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ।

अहिले प्रधानमन्त्री बन्नुभएका सभापति देउवाले पार्टीभित्रको संगठनलाई मजबुत बनाउन नसकेको कारण दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि अनपेक्षित हार बेहोर्नुपरेको भन्दै पार्टीभित्र आलोचनाको पात्र बनेका छन्।

पार्टीको विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन गरिसक्नुपर्ने भए पनि महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्न लाग्दा पनि सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनसकेका छैनन्।

कांग्रेस केन्द्रीय समितिमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र २२ जना सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ।

सभापति देउवाले पटक–पटक गरी १२ जना केन्द्रीय सदस्य मनोनित गरेपनि ९ जना केन्द्रीय सदस्य अझै मनोनित गर्न बाँकी छ। अझ केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्नुपर्ने उपसभापति मनोनित नहुँदा कांग्रेसको नीति तथा कार्यक्रम आमजनताको माझमा लैजान समस्या भएको बताइएको छ। कांग्रेसको विभिन्न केन्द्रीय विभागहरू पनि अझै गठन भएको छैन। महाधिवेशनको क्रममा आफू सभापति भए लगत्तै पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभएका सभापति देउवाले नयाँ संविधानअनुसार पार्टीको सांगठनिक संरचना निर्माणका लागि विधान संशोधन गर्न महासमिति बैठक बोलाउने तयारीसमेत नगरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि पैदा भएको छ।

सभापति देउवाका कारण पार्टीभित्रको गुट अझ मौलाउँदै गएको भन्दै एक केन्द्रीय सदस्यले भने– ‘महाधिवेशनअघि दुई गुट सशक्त रूपमा देखिएको थियो। अहिले सशक्त रूपमा तीन गुट देखिएको छ। कांग्रेसभित्र अहिले संस्थापनको रूपमा देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौला गुट हाबी छ भने अन्य शीर्ष नेताहरूको थप उपगुट पनि छ। गुटलाई मिलाउन नसकेका कारणले पनि स्थानीय निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको भन्दै पार्टीभित्र सभापति देउवाको आलोचना भइरहेको केन्द्रीय सदस्यहरूले बताउन थालेका छन्।

सधैं आलोचनाको पात्र बन्दै आउनुभएका सभापति देउवा सभापति हुनुपूर्व पनि पार्टीभित्रको विमतिहरूलाई लोकतान्त्रिक विधिले व्यवस्थापन गर्नुभन्दा नेतृत्वलाई अप्ठेरो पार्ने कदम चालेको, पार्टीलाई विभाजन गरेको र दरबारमा प्रजातन्त्र बुझाएको, आफू प्रधानमन्त्री भएको बेला सांसद खरिदबिक्रीलगायत विकृतिजन्य काम गरी संसदीय प्रणालीलाई बदनाम गरेको तथा पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ताहरूको उपेक्षा गर्ने र नव कांग्रेसीहरूमाथि बढी भर गर्ने गरेको भन्दै आलोचित थिए।

आज मन्त्रीमण्डल विस्तार हुने !

काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन्। पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकाले हिजो बुधबार देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग नाम मागेका थिए। तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको थियो।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौला पक्षलाई एउटा मन्त्रालय दिने बताउनुभएको देउवा निकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीले पौडेल पक्षसंग मन्त्री हुने नेताको नाम मागेपछि पौडेल पक्षका नेताहरू प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइरालालगायतका नेताहरूको बैठकले प्रधानमन्त्रीले आफ्नो पक्षले पाउने मन्त्रालयको नाम दिएपछि मात्र मन्त्री बन्नेको नाम टुंगो लगाउने बताएका थिए।

प्रधानमन्त्री देउवाले सिटौला पक्षलाई एउटा मन्त्रालय दिने भने पनि मन्त्रालयको टुंगो लगाउनुभएको छैन। सिटौला पक्षबाट भीमसेनदास प्रधानलाई पठाउने स्रोतले जानकारी दिएको छ। वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसंग सहमति भएको छ। प्रधानमन्त्रीले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गर्नुभएको छ।

प्रधानमन्त्री निकटस्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानन्त्री देउवाले आज बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरिरहनुभएको छ।