अभ्यास खेलमा नेपालको जित


 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली अभ्यास खेल र विशेष प्रशिक्षणका लागि भारतको गे्रटर नोयडा पुगेको दुई सातापछि बल्ल खेल्ने साइत जुरेको छ।

गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार नेपालले पहिलो अभ्यास खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनले हरायो। नेपालले पहिले ब्याटिङ गरेर २ सय ५० को दरो स्कोर बनाएको थियो। विपक्षी टोली फ्रेन्ड्स स्पोर्टस् ३२ ओभरमै सबै विकेट गुमाएर १ सय २९ रनमा समेटिएको थियो। टोलीका लागि सोनु गुजारले सर्वाधिक ३६ रनको योगदान दिए। फ्रेन्डस् स्पोर्टस्लाई सस्तैमा समेट्न साहव आलम एक्लैले तीन विकेट लिएका थिए। यस्तै सन्दीप लामिछाने, रोहित पौडेलले समान २ विकेट लिँदा किशोर महतो, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट हात पारेका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाली जुनियर टोलीले निर्धारित ४० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५० रन जोड्यो।

नेपालका लागि प्रनित थापामगर र अनिल कुमार शाहले अर्धशतक प्रहार गरे। जसमा प्रनित ८० रन तथा अनिल ५० रनमा पवेलियन फर्केका थिए।