इन्डिजिनियस च्यानलमा नेवालय

0
Shares

 

आदिबासी जनजातिका विभिन्न भाषा तथा कला–संस्कृतिको पहिचानको आवश्यकता महशुस गरिहेको अवस्थामा आदिबासी जनजातिको पहिलो टेलिभिजन च्यानलको रुपमा इन्डिजिनियस टेलिभिजन स्थापना भएको छ।

यो टेलिभिजन प्रसारण शुरु भएपछि त्यसमा दैनिक रुपमा नेवालय नामक नेवार भाषाको कार्यक्रम प्रसारण आरम्भ गरिएको छ। जसको शुभारम्भ ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले काठमाडौंको बागबजारको सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा गरेका छन्। समारोहमा जनजातिका कार्यक्रमलाई मात्र विशेष रुपमा प्रसारण गर्ने उद्देश्यले इन्डिजिनियस टेलिभिजनको स्थापना भएको टेलिभिजनका संस्थापक मध्येका एक जगत दोङले बताए। उनले वज्र क्रियसनको प्रस्तुतिमा नेवार भाषाको नेवालय कार्यक्रम हरेक दिनको साँझ साँढे ६ देखि ७ बजेसम्म प्रसारण हुने र त्यसको रेकर्ड प्रसारण बिहान र दिउँसो पनि हुने बताए।

नेवालय कार्यक्रममा हरेक दिन फरक कार्यक्रम हुने जानकारी नेवालयका प्रस्तुतकर्ता वज्र क्रियसनका प्रमुख सैलेश डंगोलले दिए। शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, नेपालभाषा आन्दोलनका प्रवद्र्धक मल्ल के सुन्दर, संगीतकार अमरराज शर्मा, पत्रकार तथा नेपालभाषाको पहिलो टेलिभिजन कार्यक्रम निर्माता विजयरत्न तुलाधर, कलाकार सुरेन्द्र तुलाधर, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्यलगायतले जनजातिका कार्यक्रम टेलिभिजनमा आवश्यकता र महत्वका विषयमा चर्चा गरेका थिए।