प्रतियोगितामा दोहोरी

0
Shares

 

राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा मंगलबारबाट सांस्कृतिक संस्थानले तीन दिवशीय राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिता२०७४ शुरु गरेको छ।
बिहीबारसम्म चल्ने प्रतियोगितामा देशभरका १७ लोक दोहोरी समूहले भाग लिएका छन्। जसमध्ये मंगलबार राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान समन्वय, जुनकिरी दोहोरी साँझ दरबार मार्ग, सृजना समूह काठमाडौं, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बागमति र निलहीरा समाज काठमाडौंले लोक दोहोरी गीत प्रस्तुत गरे। उनीहरुबीच लोक दोहोरी गायनका क्रममा एकले अर्कालाई व्याग्य गर्दै मायाप्रीति कुरामा घम्साघम्सी चल्दा दर्शकले मनोरञ्जन हासिल गरेका थिए। कार्यक्रममा अतिथि कलाकारका रुपमा बद्री पंगेनी, म्याक्सन खाती, अर्जुन खड्का, जमुना सनमलगायतका कलाकारले पनि दोहोरी भाका सुनाएका थिए।

प्रतियोगिताको शुभारम्भ लोकगायक कुमार बस्नेतले गरेका थिए। कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लोकसंस्कृतिको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। त्यसै गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले ढिलै भए पनि सरकारी तवरबाट यस्तो प्रतियोगिता आयोजना गरेर लोक दोहोरीलाई प्रोत्साहन गर्ने काम भएको बताए। प्रतियोगिताबारे संस्थानका नाटक प्रबन्धक प्रभाकरदेव शर्माले प्रकाश पारेका थिए। प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपियाँ, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र सान्त्वना हुनेले १० हजार रुपियाँ प्राप्त गर्ने संस्थानले जनाएको छ।