लोकगायक खनाल सम्मानित

0
Shares

 

अमेरिकामा रहँदै आएका लोकगायक रामप्रसाद खनाललाई सोमबार राजधानीमा आयोजित एक समारोहबीच एक दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मान गरिएको छ। डा. हर्कबहादुर बुढामगर स्मृति प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नति बोहरा ‘शीला’ को संयोजकत्वमा आयोजकका तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भूजीत बासकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीलगायतले खनाललाई सम्मान गरेका हुन्।

खनाललाई डा. हर्कबहादुर बुढामगर स्मृति प्रतिष्ठानसहित, अनेसास, गुन्जन, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल, महिला गीतकार संघ, बनिता त्रैमासिक, नारी स्वर, नारी साहित्य प्रतिष्ठान, महिला सञ्चार समूह, गोधुली साहित्य प्रतिष्ठान, जलेरिका साहित्य सेवा र नेपाल पत्रकार मञ्चले संयुक्त रूपमा सम्मान गरेको हो। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले यो सामुहिक सम्मानले उनलाई अझ धेरै काम गर्न ठूलो प्रेरणा मिल्ने बताए। त्यसै गरी उपकुलपति बासकोटाले खनालको योगदानको चर्चा गरे।

त्यसै गरी सम्मानित खनालले १० वर्षपछि देश फर्कदा पाएको सम्मानले जहाँ रह ेपनि लोकसंगीतमा निरन्तर काम गर्न अझ उर्जा बढेको बताए। कार्यक्रममा प्रतिष्ठानकी परिषद् सदस्य उन्नति बोहरा शीला, हास्यव्यंग्य अभिनेता शिवहरि पौडेल, अनेसासका केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीलगायतले गायक खनालको योगदान बारे चर्चा गरेका थिए।